राजनीति

एमाले सचिवालय बैठक जारी, उपाध्यक्ष पौडेल र गुरुङ्गद्वारा ओलीको राजिनामा मागियो

भक्तपुर । नेकपा (एमाले) को सचिवालय बैठकमा पार्टीको समग्र सांगठनिक अवस्था र गत निर्वाचनको समीक्षा सुरु भएको छ ।

शुक्रबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा नेताले पार्टीको आगामी कार्यदिशा र सांगठनिक सुदृढीकरणका विषयमा धारणा राख्नुभएको हो । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीका उपमहासचिव लेखराज भट्टले शुक्रबारको बैठकमा पाँच जना उपाध्यक्षले आफ्नो विचार प्रस्तुत गर्नुभएको जानकारी दिए ।

उहाँका अनुसार बैठक मुख्यतया पार्टीको समग्र अवस्था र निर्वाचनको समीक्षामा केन्द्रित रहेको छ । निर्वाचनको समीक्षालाई दुई वटा पाटोबाट विश्लेषण गरेर अगाडि बढ्ने पार्टीको तयारी छ । उपमहासचिव भट्टले कार्यविभाजनको विषयमा आजको बैठकमा प्रवेश नभएको स्पष्ट पार्नुभयो । बैठकमा अध्यक्ष ओलीले छलफलका क्रममा आएका विषयहरूमा सहजीकरण गर्नुभएको थियो । नेताहरूले निकै खुलेर र गम्भीरतापूर्वक आफ्ना विचारहरू प्रस्तुत गरिरहेको भट्टले बताए ।

उपमहासचिव भट्टले भने, “कार्यविभाजनको प्रस्तावमाथि आउने सुझावका आधारमा आवश्यक परे परिमार्जन वा संशोधन गरेर जान सकिनेछ । यो विषय कार्यसूची (एजेन्डा) का रूपमा आएपछि हामी आफ्ना कुराहरू राख्नेछौँ ।”

शुक्रबारको बैठकमा उपाध्यक्ष बिष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ्गले अध्यक्ष ओलीको राजिनामा मागेका थिए ।

सचिवालयका बाँकी १२ जना सदस्यहरूले भोलिको बैठकमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । अर्को बैठक शनिबार बिहान साढे ११ बजे पुनः अध्यक्ष ओलीकै निवासमा बस्ने गरी स्थगित भएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्