अमेरिका

अमेरिकामा यो वर्ष मात्रै पन्ध्र हजार चर्चहरू बन्द

पत्रकार खनाल, अमेरिका । विभिन्न आर्थिक वा अन्य प्रलोभनका कारण नेपालका विभिन्न स्थानमा मन्दिरभन्दा चर्चहरु खुल्नेक्रम चलिरहेको छ तर अमेरिकामा भने यसको ठीक उल्टो भइरहेको छ । नेपाली समुदायहरुले कतिपय स्थानमा चर्च किनेर मन्दिर बनाएका छन् भने कतिपय चर्चहरु कहिल्यै नखुल्ने गरी बन्द भएका छन् ।

नेपाली समुदायले चर्च किनेर मन्दिर बनाएको उदाहरण त वोस्टन नै हो । करिब छ वर्ष अघि ग्रेटर वोस्टन नेप्लीज कम्युनिटीले वे्रन ट्री स्थित एउटा चर्च किनेर त्यसमै पशुपतिनाथ तथा बुद्ध मन्दिर निर्माण गरेको हो । यस्ता अरु पनि थुप्रै उदाहरण छन् ।

साम्प्रदायिक रिपोर्टहरु र चर्च सल्लाहकारहरुका अनुसार, अमेरिकीहरुले यस वर्षमात्र १५ हजारभन्दा बढी चर्चहरु बन्द भएको देख्न वा सुन्न सक्नेछन् । यो क्रम आगामी केही वर्षसम्म लगातार बढ्ने अपेक्षा गरिएको छ । अरु थप १५ हजार पनि पूर्णकालीनबाट आँशिक समयमा झर्ने बताइएको छ । वाशिंटन डिसीबाट प्रकाशित हुने एक्सियस भन्ने अनलाइनमा चर्चबारेको यो समाचार प्रकाशित भएको छ ।

अमेरिकामा चर्चहरुले नियमित प्रार्थना तथा वाइवलको प्रवचन वाहेक विशेषतः न्यून आय भएका मानिसहरुका लागि खानेकुरा, बाल हेरचाह र प्राकृतिक प्रकोपमा परेका व्यक्तिहरुको लागि राहत पनि उपलब्ध गराउने गर्छन् । चर्चहरु बन्द भएपछि यसको अभावमा ग्रामीण भेगका मानिसहरु ठूलो मारमा पर्ने विश्लेषण गरिएको छ ।

किन बन्द हुन्छन् चर्चहरु ?

चर्चमा विश्वास गर्ने मानिसहरुको आगमन घट्दै गएको कारण चर्च बन्द गर्नुपरेको हो । यसवाहेक चर्चहरु बन्द हुनुको अर्को कारण पाष्टरहरुको अनुपलव्धता हो । पाष्टर भनेको चर्च वा मण्डलीको नेता हो, जो चर्चमा गएर वाइवलको पाठ पढ्ने तथा आध्यात्मिक मार्गदर्शन, प्रार्थना, उपासना वा व्यावहारिक आवश्यकताहरुको लागि जिम्मेवार हुन्छ ।

तथ्यांक अनुसार, पूर्णकालीन पाष्टरहरुको खर्च नै चर्च बन्द हुनुको प्रमुख कारण मानिएको छ । त्यसैगरी, पानी तथा बिजुली बत्तीको खर्च, यसको संरक्षण, सरसफाइ, रेखदेख, मर्मत संभार, बसाइसराइ र बढ्दो विमाको कारण चर्चहरु बन्द गर्नुपरेको बताइएको छ ।

व्याप्टिस्ट कन्भेन्सन लाइफ वे क्रिस्चियन रिसोर्सेसका पूर्व अध्यक्ष थोम रेनरका अनुसार, व्याप्टिस्ट कन्भेन्सनले चर्चहरुलाई दिँदै आएको सहायता तथा स्रोतहरु घट्दै गएको कारण बन्द गर्नु परेको हो ।

राष्ट्रिय चर्च परिषदका अनुसार, आगामी केही वर्षभित्र अमेरिकाका विभिन्न स्थानमा रहेका एक लाख चर्चहरु सदाका लागि बन्द हुनेछन् । रेनरको विश्लेषणलाई पनि यो कुराले पुष्टि गर्दछ ।

हाल अमेरिकाभर करिब तीन लाख ५० हजार चर्चहरु रहेको जनाइएको छ । एकजना राजनीतिक वैज्ञानिक तथा फेथ एण्ड अस का लेखक रायन वर्गले चर्चहरु बन्दको प्रभावले कुनै समयका शक्तिशालीहरु कमजोर हुँदै गएको संकेत गर्दछ भनेर टिप्पणी गर्नुभएको छ ।

उहाँले थप्नुभयो यसको परिणामस्वरुप धेरै समुदायहरुमा खाली चर्च भवनहरु बाँकी छन् र चिहानहरुको नजिकै रहेकाले बेच्न गारोसमेत हुने छ ।

यस अतिरिक्त पादरीहरुको दुव्र्यवहारका मुद्दाहरु, यदाकदा चर्चभित्र हुने गरेका वाल यौन दुराचारका घटनाका कारण पनि चर्चहरुको संख्या घट्दै जानुको मुख्य कारण हुन्, भर्जिनिया कमनवेल्थ विविमा क्याथोलिक विषय अध्ययनका अध्यक्ष एण्ड्रु चेसनटले भन्नुभयो ।

प्यु रिसर्च सेन्टरका अनुसार, सन् २००७ मा ७८ प्रतिशत अमेरिकीहरु क्रिस्चियन धर्मप्रति आस्थावान थिए भने हाल आएर यो संख्या निकै घटेर करिब ६१ प्रतिशतमा झरेको छ । अमेरिकाका क्रिस्चियनहरु मुख्यतः दुई शाखामा विभक्त छन् । जसमध्ये ४० प्रतिशत वयस्कहरु प्रोटेस्टेन्ट धर्ममा विश्वास गर्छन् भने १९ प्रतिशतले क्याथोलिक धर्ममा विश्वास राख्दछन् । अमेरिकी वयस्कहरुमध्ये २९ प्रतिशतले धार्मिक रुपमा असम्बद्धताको रुपमा आफूलाई चिनाउने गर्दछन् भने पाँच प्रतिशत नास्तिक र छ प्रतिशत अज्ञेयवादी छन् ।

चर्चहरु बन्दको क्रम बढ्दै गए पनि प्रोटेस्टेन्ट धर्ममा आस्थावान इभान्जेलिकल परम्परामा रहेका पादरीहरु, पुरातनवादीहरु र केही सरकारी कर्मचारीहरु वाइवलको अधिकार, व्यक्तिगत रुपान्तरणको आवश्यकता र सुसमाचार आदि कुराहरु सार्वजनिक विद्यालयको पाठ्यपुस्तक र अरु संस्थाहरुमा जबर्जस्त राख्न जोड दिइरहेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्