एक्सक्लुसीभ

‘अख्तियार प्रमुखसहित आयुक्तहरुले स्वेच्छिक राजीनामा दिनुपर्छ’

काठमाडौँ । जेनजी आन्दोलन अलाइन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित सबै आयुक्तको स्वेच्छिक अवकासको माग राखेको छ । अलाइन्सको तर्फबाट जेनजीका सदस्यहरूले सरकार तथा अख्तियारमा गएर लिखित रूपमा सो माग गरेका हुन् ।

जेनजीको तर्फबाट नेतृत्वहरू सामना लावती, रिजन रानामगर, अनुषा खनाल, आकृति घिमिरे, ओजस्वी भट्टराई, विशेष शाह, हेम चौधरी, अमित खनाल, आभास सापकोटासहितको हस्ताक्षर रहेको लिखित मागपत्रमा भ्रष्टाचारको अन्त्य र मुलुकको दण्डहीनता अन्त्यका लागि भन्दै सो माग गरिएको जेनजी सदस्यहरूको भनाइ छ ।

अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीको नेतृत्व आवश्यक रहेको माग गर्दै लिखित निवेदन प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्रीलाई हस्तान्तरण गरिएको जेनजी सदस्यहरूले बताउनुभएको छ ।

अख्तियारका पदाधिकारी तथा सदस्यहरूलाई हटाउन संवैधानिक हिसाबले महाभियोग लगाउनुपर्ने व्यवस्था छ । तर अहिले प्रतिनिधिसभा (संसद्) नभएको अवस्थामा स्वेच्छिक अवकाशको बाटोमात्र भएकाले जेनजी नेतृत्वहरूले अख्तियारका पदाधिकारीमाथि राजीनामा दिनुपर्ने दबाब बढाएका हुन् । भ्रष्टाचार अन्त्यको अभियानमा भूमिका निर्वाह गर्न नसक्ने भए नैतिकताका आधारमा राजीनामा दिन जेनजी अलाइन्सले आग्रह गरेको छ ।

जेनजी अलाइन्सले उठाएको अन्य मागहरूमा आवश्यक पर्दा अख्तियारका पदाधिकारीसहित सदस्यहरूमाथि नै छानबिन गर्नुपर्ने, सार्वजनिक संस्थाहरूको सम्पत्ति शुद्धीकरण अभियान चलाइनुपर्ने, त्यसमा सहयोग गर्न जेनजी युवाहरूको छुट्टै कार्यदल गठनको माग जेनजी अलाइन्सको रहेको छ ।

त्यस्तै, नीतिगत भ्रष्टाचारको सम्बोधनलाई कानुनमा आवश्यक संशोधनको आवश्यक सिफारिस गर्ने, संविधानको संशोधन गर्नुपर्ने बुँदा तर्जुमा गरी सिफारिसको माग समेत जेनजी अलाइन्सको रहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्