कांग्रेसको वैधानिकता पुनः प्रमाणित हुन्छ: सभापति गगन थापा
काठमाडौँ । कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विधानसम्मत र वैधानिक भएको प्रस्ट पार्नुभएको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कांग्रेसको विधानमा भएको व्यवस्था र पार्टीका सार्वभौम सदस्यको अधिकार प्रयोग गरेरै विशेष महाधिवेशन सम्पन्न गरिएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “विशेष महाधिवेशन आवश्यक मात्र थिएन, यो हाम्रो अधिकारको कुरा पनि थियो । यसको वैधानिकतालाई महाधिवेशनको हल, निर्वाचन आयोग र सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चले समेत पुष्टि गरिसकेको छ ।”
सभापति थापाले अदालतले पुनः पुस्ट्याइँ गर्नुपर्ने भनेको र यसलाई आफ्नो पक्षको वैधानिकता पुनः प्रमाणित गर्ने अवसरका रूपमा लिएको बताउनुभयो । भक्तपुरमा भएको एक अर्को छुट्टै कार्यक्रममा सभापति थापाले राजनीतिलाई केवल सत्ता प्राप्तिको भ¥याङ मात्र बनाउन नहुनेमा जोड दिनुभएको छ । राजनीतिज्ञ श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको रक्तदान तथा स्टेसनरी सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सत्ता र शक्ति नागरिकको सेवा गर्ने माध्यम मात्र भएको प्रस्ट पार्नुभएको हो ।
उहाँले पार्टीभित्रका आन्तरिक मनमुटावलाई मिलाउँदै कांग्रेसलाई एकढिक्का बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नवयुवा पुस्ताले गौरव गर्ने कांग्रेस बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पार्टीको आत्मा नमर्ने गरी यसलाई पुनर्जीवित गर्नुपर्ने छ । हाम्रा अग्रजले कांग्रेस भनेर जुन गौरव गर्थे, त्यस्तै गौरव अहिलेका पुस्ताले पनि गर्न सक्ने बनाउनु हाम्रो जिम्मेवारी हो ।”
सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिने सन्दर्भमा गरेको फैसला पुनरवलोकन गर्ने आदेश दिएकै बेला नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २४ गतेका लागि आह्वान गरिएको छ । महामन्त्री गुरुराज घिमिरेका अनुसार पार्टीको १५ औँ महाधिवेशन, साङ्गठनिक संरचना, आन्तरिक एकतासहित समसामयिक राजनीतिक सन्दर्भमा विमर्श गरी निर्णयमा पुग्न बैठक आह्वान गरिएको हो ।
यसै गरी पूर्वसभापति शेरबहादुर देउवा समूहले पनि साउन २९ देखि ‘राष्ट्रिय भेला’ आयोजना गर्दै छ । महामन्त्री घिमिरेले पार्टीभित्र हुने कुनै पनि भेला वा कार्यक्रमको उद्देश्य पार्टीलाई सुदृढ र बलियो बनाउने हुनुपर्ने बताउनुभयो । उहाँले भेला आयोजना हुनु आफैँमा नौलो विषय नभएको उल्लेख गर्दै त्यसको सान्दर्भिकता यसको उद्देश्यमा निर्भर हुने स्पष्ट पार्नुभयो ।
भेला आयोजक समितिका संयोजक एवं कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले सर्वोच्च अदालतले पार्टीको आधिकारिकताका सन्दर्भमा पुनरवलोकनका लागि दिएको आदेशले पार्टी एकताबद्ध हुने सम्भावना बढेको बताउनुभएको छ । उहाँका अनुसार भेलामा पूर्वसभापति देउवा पनि सहभागी हुनुहुने छ । उहाँ साउन २८ गते स्वदेश फर्किनुहुने छ ।