नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा
रूपन्देही ।आगामी आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि रुपन्देहीको भैरहवामा सञ्चालन गरिएको नेपाली महिला यु–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण आइतबार सम्पन्न भएको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा गत असोज २० गतेदेखि सुरु भएको १३ दिने बन्द प्रशिक्षण आयोजना गरिएको थियो । प्रशिक्षणमा नेपालका सातै प्रदेशबाट छनोट भएका २८ जना महिला क्रिकेट खेलाडी सहभागी थिए ।
पूर्वराष्ट्रिय क्रिकेट खेलाडी तथा यू–१९ टोलीका प्रशिक्षक महेश रिजालले खेलाडीलाई प्रशिक्षण दिनुभएको थियो । उहाँ आईसीसी महिला यू–१९ क्रिकेटसँग सम्बन्धित प्रशिक्षकका रूपमा समेत आबद्ध हुनुहुन्छ ।
नेपाल र बङ्गलादेशमा संयुक्त रूपमा सन् २०२७ को जनवरी–फेब्रुअरीमा आयोजना हुने आईसीसी महिला यू–१९ विश्वकपलाई लक्षित गरी खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतियोगिताको तयारीका लागि बन्द प्रशिक्षण सञ्चालन गरिएको रुपन्देही क्रिकेट सङ्घका पूर्वअध्यक्ष प्रशान्त मल्लले जानकारी दिनुभयो ।
बन्द प्रशिक्षणबाट खेलाडीलाई आगामी अन्तरराष्ट्रिय प्रतियोगिताका लागि आवश्यक तयारी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।