नेपाल

पहिचान नखुलेका ८५ शवको व्यवस्थापन

काठमाडौँ। भोटेकोशी नदीमा आएको भीषण हिमबाढीमा परी मृत्यु भएका शवको व्यवस्थापन गरिएको छ । हालसम्म पहिचान खुल्न नसकेका ८५ वटा शव काठमाडौँमा सुरक्षित रुपमा व्यवस्थापन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख ईश्वरराज पौडेलले भोटेकोशी तथा त्रिशूली नदी किनारका क्षेत्रमा आएको बाढीमा परी मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

बाढीपछि शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौँमा ल्याइएको थियो । अस्पतालमा ल्याइएका शवमध्ये आफन्त तथा परिवारजनबाट पहिचान भएका शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी पौडेलले पहिचान नखुलेका शवको वैज्ञानिक विधि र निर्धारित प्रक्रियाअनुसार व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

उहाँले शव व्यवस्थापन गर्दा अन्तर्राष्ट्रिय प्रोटोकल तथा राष्ट्रिय कार्यविधिगत व्यवस्थासमेत पालना गरिएको बताउनुभयो । शव व्यवस्थापन गर्दा अन्तर्राष्ट्रिय प्रोटोकल र राष्ट्रिय कार्यविधिगत व्यवस्थाको पालना गरिएको छ, प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो, “डिएनए परीक्षणका आधारमा पछि पहिचान खुलेमा हाल व्यवस्थापन गरिएको स्थानबाट शवको अवशेष निकालेर सम्बन्धित परिवारलाई अन्तिम संस्कारका लागि हस्तान्तरण गरिनेछ ।”

उहाँका अनुसार शव व्यवस्थापनको सम्पूर्ण प्रक्रियामा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल रेडक्रस सोसाइटी र अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) को नेपालस्थित प्रतिनिधिबाट समेत पर्यवेक्षण गरिएको छ । अस्पतालको शव गृहमा रहेका अधिकांश शव क्षतविक्षत अवस्थामा रहेको, कतिपयको पहिचान गर्न नसकिने गरी अङ्गभङ्ग भएका तथा सड्ने अवस्थामा पुगेका थिए ।

केही व्यक्तिका मृत शरीर छिन्नभिन्न अङ्ग मात्र प्राप्त भएकाले तत्काल पहिचान गर्न कठिन भएको उहाँको भनाइ छ । अस्पतालमा थप शव आउनेक्रम जारी रहेको, शव राख्ने स्थानसमेत अभाव हुँदै गएको र समयमै उचित व्यवस्थापन हुन नसके दुर्गन्ध तथा महामारी फैलिन सक्ने जोखिम देखिएपछि पहिचान हुन नसकेको शवको व्यवस्थापन गरिएको हो ।

जिल्ला सुरक्षा समिति काठमाडौँको सोमबारको निर्णयअनुसार हालसम्म पहिचान हुन नसकेका शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापन गरिएको हो ।

शव व्यवस्थापन गर्नुअघि प्रत्येक शवको फोटो खिचिएको, डिएनए परीक्षणका लागि मृत शरीरको अङ्गको नमुना सङ्कलन गरिएको तथा बडी ट्याग लगाइएको छ । यसका अतिरिक्त आवश्यक फिङ्गरप्रिन्ट लिइएको छ । यसरी सङ्कलन गरिएका नमुना तथा विवरण सुरक्षित राखिएकाले भविष्यमा कुनै शवको पहिचान खुलेमा सम्बन्धित परिवारलाई शवको अवशेष अन्तिम संस्कारका लागि हस्तान्तरण गर्न सकिने व्यवस्था गरिएको छ ।

पहिचान नखुलेका शवलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका दक्षिणढोका क्षेत्रको सरकारी वनमा व्यवस्थापन गरिएको छ । स्थानीय प्रशासनले आवश्यक निर्णय गरी उक्त क्षेत्रमा शव व्यवस्थापन गरेको हो । शव व्यवस्थापन गर्नुअघि पहिचानका लागि आवश्यक वैज्ञानिक प्रक्रिया पूरा गरिएको छ ।

शवको फोटो, डिएनए नमुना, बडी ट्याग तथा अन्य आवश्यक विवरण सुरक्षित राखिएको छ । भविष्यमा आफन्तले दाबी गरेमा वा हराइरहेका व्यक्तिको डिएनए नमुनासँग मिलान गर्दा पहिचान खुलेमा सोही अभिलेखका आधारमा थप प्रक्रिया अघि बढाइनेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्