नेपाल

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

काठमाडौँ।  पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार त्यस  क्षेत्रमा १५३.२ मिलिमिटर वर्षा भएको छ । 

विभागको मौसमविद् बिनु महर्जनले पछिल्लो २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएको जानकारी दिनुभएको छ । त्यस अवधिमा मधेस प्रदेशमा भने अपेक्षाकृत कम वर्षा भएको छ ।

महर्जनका अनुसार  पछिल्लो छ घण्टामा देशका कुनै पनि क्षेत्रमा भारी वर्षा भएको छैन । पछिल्लो समय अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । लुम्बिनी प्रदेशको पश्चिमी तराईमा २४ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ ।

“आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो ।

विभागका अनुसार, कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी भारी वर्षाको सम्भावना छ । त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा पनि भारी बर्षा हुने जनाइएको छ ।

मधेस प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान तथा कर्णाली र  सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा आज राति मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना भएकाले बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्