साकाको ह्याट्रिकले इङ्ल्यान्डद्वारा फ्रान्स ६-४ ले पराजित
मियामी गार्डेन्स, फ्लोरिडा । बुकायो साकाले तीन गोल गर्दै इङ्ल्यान्डलाई फ्रान्सविरुद्ध ६-४ को जित दिलाएर विश्वकपमा तेस्रो स्थान सुरक्षित गर्न मद्धत गरे। यसैबीच, शनिबारको खेलको दोस्रो हाफमा दुई गोल गर्दै किलियन एम्बाप्पेले विश्वकपमा लियोनेल मेसीको सर्वाधिक गोलको कीर्तिमान तोडे र ‘गोल्डेन बुट’ को दौडमा अग्रता लिए।
सन् १९८२ मा हंगेरीले एल साल्भाडोरलाई १०-१ ले हराएपछिको यो सबैभन्दा धेरै गोल भएको विश्वकप खेल थियो भने तेस्रो स्थानको खेलमा १० गोल हुनु आफैंमा कीर्तिमान हो।
साकाले ३७औं मिनेट र पहिलो हाफको अतिरिक्त समयमा गोल गरे भने ८७औं मिनेटमा पेनाल्टीमार्फत आफ्नो तेस्रो गोल पूरा गर्दै इङ्ल्यान्डका लागि आफ्नो करियरको दोस्रो ‘ह्याट्रिक’ पूरा गरे। ‘थ्री लायन्स’ (इङ्ल्यान्ड) का लागि डेक्लान राइस र एज्री कोन्साले पनि गोल गरे। यससँगै टोलीले पहिलो हाफमै ४-० को अग्रता लियो र सन् १९६६ मा आफ्नो एकमात्र उपाधि जितेयता विश्वकपमा उत्कृष्ट नतिजा (तेस्रो स्थान) हासिल गर्यो।
इङ्ल्यान्डका जुड बेलिङघमले दोस्रो हाफको अतिरिक्त समयको आठौं मिनेटमा गोल गर्दै खेलको अन्तिम गोल गरे; यो प्रतियोगितामा उनको सातौं गोल थियो।
एम्बाप्पेको विश्वकप करियरको गोल संख्या २२ पुग्यो, जुन मेसीको भन्दा एक गोल बढी हो। यी स्टार स्ट्राइकरले यस विश्वकपमा १० गोल गरे। प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई दिइने ‘गोल्डेन बुट’ को दौडमा उनी मेसीभन्दा दुई गोलले अघि रहे।
फ्रान्सका लागि ब्राडली बार्कोला र ओस्मान डेम्बेलेले पनि गोल गरे।