‘नेचुरलाइजेसन’ मार्फत नागरिकताका प्राप्तिका लागि अंग्रेजी भाषा अनिवार्य हुनु पर्छ: ब्रान्डन गिल
'एक्स'मा गरिएको एक पोस्टमा गिलले अंग्रेजीलाई "अमेरिकी समुदायहरूलाई एकताबद्ध राख्ने साझा भाषा" भन्दै टिप्पणी गरेका छन् । उनले भावी अमेरिकी नागरिकहरूले "अमेरिकीहरूले बोल्ने भाषा नै बोल्नुपर्ने" तर्क गरेका छन् ।
वाशिंगटन । प्रतिनिधि सभा सदस्य ब्रान्डन गिल (टिएक्स-२६) ले ‘नेचुरलाइजेसन’ मार्फत नागरिकताका लागि आवेदन दिने आप्रवासीहरूले अनिवार्य अंग्रेजी भाषाको आधारभूत दक्षता प्रदर्शन गर्न पर्ने विधेयक सदनमा पेश गरेका छन् ।
जुलाई १६ मा पेश गरिएको ‘इंग्लिश ल्याङ्ग्वेज प्रोफिसियन्सी एक्ट’ ले अंग्रेजी भाषासम्बन्धी आवश्यकताबाट उमेरका आधारमा पाइने हालको छुट तथा नागरिक शास्त्रसम्बन्धी परीक्षामा दिइने विशेष सुविधाहरूलाई खारेज गर्नेछ।
अहिलेको कानुन अनुसार, कम्तीमा २० वर्षदेखि वैधानिक स्थायी बासिन्दा रहेका ५० वर्ष वा सोभन्दा बढी उमेरका आवेदकहरू तथा कम्तीमा १५ वर्षदेखि स्थायी बसोबास भएका र ५५ वर्ष वा सोभन्दा बढी उमेरका आवेदकहरूलाई अंग्रेजी भाषासम्बन्धी आवश्यकताबाट छुट दिइएको छ।
६५ वर्ष वा सोभन्दा बढी उमेरका र कम्तीमा २० वर्षदेखि स्थायी बासिन्दा रहेका आवेदकहरूले नागरिकतासम्बन्धी ज्ञानको परीक्षा (civics examination) मा अतिरिक्त सुविधा वा विशेष विचार पाउँछन्।
यस कानुनले उमेरको वास्ता नगरी नागरिकताका लागि आवेदन दिने सबै व्यक्तिहरूले अंग्रेजी भाषा र नागरिकतासम्बन्धी ज्ञानको एउटै मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गर्नेछ।
‘एक्स’मा गरिएको एक पोस्टमा गिलले अंग्रेजीलाई “अमेरिकी समुदायहरूलाई एकताबद्ध राख्ने साझा भाषा” भन्दै टिप्पणी गरेका छन् । उनले भावी अमेरिकी नागरिकहरूले “अमेरिकीहरूले बोल्ने भाषा नै बोल्नुपर्ने” तर्क गरेका छन् ।
गिलको विधेयकलाई फ्लोरिडाका रिपब्लिकन प्रतिनिधि र्यान्डी फाइन, अलाबामाका ब्यारी मूर र टेक्सासकी बेथ भान ड्युइनले सह-प्रायोजन गरेका छन्। यसलाई ‘इमिग्रेसन अकाउन्टेबिलिटी प्रोजेक्ट’ र ‘प्रो-इंग्लिस’को पनि समर्थन प्राप्त छ।