क्यालिफोर्निया

लस एन्जलस । दक्षिणी क्यालिफोर्नियामा बिदाको सप्ताहन्तमा भएको आतिशबाजीको विस्फोटमा परी एक महिलाको मृत्यु र अन्य तीन जना घाइते भएपछि एक व्यक्तिलाई ‘अनइच्छित हत्या’को आरोपमा पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।

चिनो प्रहरी विभागले जारी गरेको विज्ञप्तिअनुसार, जुलाई ४ को बेलुका करिब साढे ८ बजे (स्थानीय समय) प्रहरी अधिकारीहरू क्यालिफोर्नियाको चिनो सहरको एक आवासीय क्षेत्रमा सवारी साधनमा आगलागी भएको खबर पाएपछि घटनास्थलमा पुगेका थिए। चिनो सहर लस एन्जलसबाट करिब ३५ माइल पूर्वमा, पश्चिमी सान बर्नार्डिनो काउन्टीमा अवस्थित छ।

प्रहरीका अनुसार घटनास्थलमा पुग्दा त्यहाँ विस्फोट भएको र धेरै मानिसहरू घाइते भएको पाइएको थियो। अधिकारीहरूले तत्कालै गम्भीर घाइते भएका पीडितहरूलाई प्राथमिक उपचार प्रदान गरे। प्रहरीका अनुसार विस्फोटका कारण नजिकै रहेको एउटा सवारी साधनमा पनि आगो लागेको थियो।

“प्रारम्भिक अनुसन्धानका आधारमा, ठूलो परिमाणमा पटकाहरूमा आगो लाग्दा विस्फोट भएको प्रहरीको अनुमान छ,” प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ; साथै, घटनाको अनुसन्धान जारी रहेको पनि जनाइएको छ।

२८ वर्षीय डेरिअन ट्राडन जेम्स जुनियरलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको र पछि ‘अनइच्छित ज्यान मारेको’ अभियोगमा वेस्ट भ्याली डिटेन्सन सेन्टरमा राखिएको प्रहरीले जनाएको छ। यस मुद्धालाई समीक्षाका लागि सान बर्नार्डिनो काउन्टी जिल्ला न्यायाधिवक्ताको कार्यालयमा पठाइनेछ।

घटनापछि, प्रहरीले जनाएअनुसार अनुसन्धानकर्ता र अग्नि नियन्त्रक टोली घटनास्थलमै खटिएर सो क्षेत्र सुरक्षित रहेको सुनिश्चित गर्न तथा बाँकी रहेका आतिशबाजी, भग्नावशेष र अन्य जोखिमहरूको मूल्याङ्कन गर्न काम गरिरहेका थिए। सप्ताहन्तमा नजिकैका केही सडकहरू बन्द गरिएका थिए।

चिनो प्रहरी विभागले यस आपराधिक घटनाको अनुसन्धानको नेतृत्व गरिरहेको छ। लस एन्जलस काउन्टीको ‘डिपार्टमेन्ट अफ मेडिकल एक्जामिनर’ ले मृत्युसम्बन्धी अनुसन्धान गर्नेछ भने ओन्टारियो अग्नि नियन्त्रण विभागको ‘बम स्क्वाड’ ले यस घटनाको विस्फोटक पदार्थसँग सम्बन्धित पक्षमा अनुसन्धानकर्ताहरूलाई सहयोग गरिरहेको छ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका तीन जनालाई स्थानीय अस्पतालहरूमा लगिएको थियो। पीडितमध्ये २० वर्षको हाराहारी उमेरकी एक महिलाको पछि अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।

लस एन्जलस काउन्टीको ‘डिपार्टमेन्ट अफ मेडिकल एक्जामिनर’द्वारा उनको पहिचान पुष्टि गर्ने र परिवारजनलाई जानकारी गराउने प्रक्रिया पूरा नभएसम्म उनको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अन्य दुई पीडित गम्भीर घाइते भएका छन् र उनीहरू बाँच्ने अपेक्षा गरिएको छ। उनीहरूको परिचय सार्वजनिक गरिएको छैन।

समाचार विज्ञप्तिअनुसार, चौथो पीडित—जसलाई प्रहरीले नाबालिग भनेको छ—लाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो र “त्यसपछि उनलाई अभिभावक वा संरक्षकको जिम्मा लगाइएको छ।”

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्