नेपाल

नारायणी अस्पतालमा उपचाररत कैदीको मृत्यु, आफन्तको प्रदर्शनपछि तनाव

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कैदीको मृत्यु भएसँगै मृतकका आफन्तहरूले अस्पताल प्रशासनको गम्भीर लापरबाहीको आरोप लगाउँदै आज दिउसो अस्पताल अगाडि विरोध प्रदर्शन पछि अस्पताल क्षेत्र तनावपूर्ण भएको छ ।

मृत्यु हुनेमा हत्याको अभियोगमा वीरगञ्ज कारागारमा रहेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ खलवाटोला श्रीसिया निवासी २८ वर्षीय राहुल साह तुहारा रहेका छन् ।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार, तुहारालाई आज बिहान ८ः५० बजे अस्पताल भर्ना गरिएको थियो र उपचारको क्रममा बिहान १०ः३० बजे उनको मृत्यु भएको हो । डा. सिंहले तुहारालाई अस्पताल ल्याउँदा उनको मुखबाट रगत र फिज आइरहेको तथा रक्तचाप शून्य रहेको जानकारी दिनुभयो ।

डा. सिंहका अनुसार, तुहारालाई तत्काल आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । अस्पतालमा तत्काल आइसियु बेड खाली नभएपछि बाहिर अन्यत्र लैजान सुझाव दिइएको थियो र तुहाराको परिवारले एम्बुलेन्स समेत बोलाएका थिए । तर, लगत्तै एउटा आइसियु बेड खाली भएपछि उनलाई त्यही बेडमा राखेर उपचार सुरु गरियो । उपचार सुरु भएको करिब १५ मिनेटमै, अर्थात् १०ः३० बजे, तुहाराको मृत्यु भएको सिंहले बताउनुभयो ।

यता, मृतकका आफन्तहरूले भने अस्पतालको लापरबाही र सही समयमा उचित उपचार नपाएकै कारण राहुलको ज्यान गएको गम्भीर आरोप लगाएका छन् ।

यसैको विरोधमा उनीहरूले नारायणी अस्पतालअगाडि टायर बालेर प्रदर्शन गर्नुका साथै अस्पताल प्रशासनविरुद्ध नाराबाजीसमेत गरिरहेका छन् । घटनाले वीरगञ्जमा तनावको स्थिति सिर्जना गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्