एक्सक्लुसीभ

भारतको नेपालमा प्रभाव: भारतीय बजार टर्नीमा नेपाली रुपियाँ चल्छ तर घाटामा

सस्तोमा सामान खरिद गर्न पाइने हल्लाका भरमा हरेक हप्ता टर्नी बजार पुग्ने सीमावर्ती गाउँका नेपालीलाई भारतीयले मुद्रादेखि लिएर तौलमासमेत लुट मच्चाउँदै आएका छन् । बेलापरसुआ र टर्नी बजारमा नेपाली रुपियाँ चल्छ तर घाटामा ।

धनगढी। नेपालमै नेपाली पैसा चल्दैन भन्दा पत्यार नलाग्न सक्छ तर कैलालीमा एउटा यस्तो गाउँ छ, जहाँ नेपाली होइन भारुमा मात्र कारोबार हुन्छ ।

कैलारी गाउँपालिका–७ स्थित सीमावर्ती गाउँ हौसलपुरमा भारुमा कारोबार हुँदै आएको छ । नेपालीसंँग भन्दा पनि भारतीयसँग बढी कारोबार हुने र भारतमा निर्भर हुने भएकाले पनि यहाँ भारतीय मुद्राको कारोबार हुने गरेको छ ।

त्यहाँका किराना पसलदेखि होटेलमा सामान किनमेल गर्दा वा खानपान गर्दा भारु पैसा नै तिर्नु पर्छ ।

नेपालमै रहेको गाउँले यसरी आफ्नै मुद्रालाई अवमूल्यन गर्नु दुःखद पक्ष भएको स्थानीय आफैँ बताउँछन् तर भारतीय नोटमै कारोबार गर्न पाए नेपालीभन्दा भारतीय बढी खुसी हुने र व्यापारमा सहुलियत हुने आसमा गाउँलेले नेपालीभन्दा भारतीय नोट नै बढी प्रयोग गर्ने गरेका छन् ।

मोहना नदीपारि रहेको हौसलपुर गाउँ विगतमा बिरानो जस्तै थियो । नदीमा झोलुङ्गे पुल बनेपछि भने आवतजावतदेखि लिएर यहाँ विभिन्न कारोबारका लागि सहज भएको छ ।

यो गाउँमा मोहना नदीवारि रहेका छिमेकी गाउँका स्थानीय आलु, गहुँको बिउबिजनदेखि लिएर दैनिक उपभोग्य अन्य सामान किनमेल गर्न जानेका गरेका छन् । यो गाउँमा बढीजसो भारतीय सामानको किनमेल हुने गरेको बताइएको छ ।

भारतीय बजारमा भने लुट

आफ्नै मुलुकको गाउँमा भारुमा कारोबार गर्न बाध्य नेपालीका लागि भारतीय सीमावर्ती बजार सहज हुने कुरै भएन ।

सीमावर्ती भारतीय गाउँ बेलापरसुआका पसल र गढीबाबामा हरेक आइतबार लाग्ने टर्नी बजारमा उनीहरू त्यसै गरी समस्या भोग्ने मात्रै नभई लुटिन पनि बाध्य छन् ।

सस्तोमा सामान खरिद गर्न पाइने हल्लाका भरमा हरेक हप्ता टर्नी बजार पुग्ने सीमावर्ती गाउँका नेपालीलाई भारतीयले मुद्रादेखि लिएर तौलमासमेत लुट मच्चाउँदै आएका छन् । बेलापरसुआ र टर्नी बजारमा नेपाली रुपियाँ चल्छ तर घाटामा ।

भारतीय व्यापारीले एक हजार नेपाली रुपियाँलाई छ सय भारु, पाँच सय नेपालीलाई तीन सय भारु मानेर कारोबार गर्ने गरेका छन् ।

उनीहरूले गर्दै आएको कारोबार अनुसार सीमावर्ती भारतीय बजारमा नेपालीले एक हजार रुपियाँमा ४० रुपियाँ, पाँच सयमा २० रुपियाँ घाटा बेहोर्नु परेको छ ।

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी आसपासको सीमावर्ती भारतीय बजार वनगाँवा, सुडासहित चन्दनचौकीलगायतका ठुला बजारमा नेपाली रुपियाँको कारोबारमा समस्या नरहे पनि बेलापरसुआ र टर्नी बजारमा समस्या रहेको कैलारी गाउँपालिका–७, तिघरीका दिलीप चौधरीको भनाइ छ ।

यहि बजारमा मात्रै भारतीय व्यापारीले नेपालीबाट करोडौँ रुपियाँ ठगी गरिसके । सस्तोमा सामान पाइने आसामा आउने नेपालीलाई एकातिर पैसामा र अर्कौतिर तौलमा समेत ठगेर भारतीय व्यापारीले बद्मासी गर्ने गरेको स्थानीयको गुनासो छ ।

दैनिक उपभोग्य सामानका लागि नेपाली ग्राहकलाई नै लक्षित गरेर विगत तीन वर्षदेखि यो बजार सञ्चालनमा रहेको छ ।

कमसल वा प्रायः कुहिन थालेका सामग्री बिक्रीका लागि राखिने टर्नी बजारमा व्यापारीले तौलमा अत्यधिक ठगी गर्ने गरेको आफैँ प्रत्यक्षदर्शी भएको स्थानीय रामलाल चौधरीले बताउनुभयो ।

ढक तराजुबाट नापतौल गरिएका सामानको नाप किलोमै दुई/तीन सय ग्राम कम हुने गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्