साहित्य

पेनीको कथा

मेरो कथाकी नायिकाको नाम ‘पेनी’ हो । उमेर ७६ वर्ष । देख्नमा राम्री छन् । नजानिँदो गरी झुकेको कम्मर । लगभग ३० वर्षको उमेर छँदा पेनी एउटा गम्भीर एक्सिडेन्टमा परेकी रहिछन् । अपरेसनपछि ठिक त भइछन् तर उनको कम्मर पाँच डिग्रीजति झुकेछ ।

पेनी हाम्रो छिमेकमा बस्थिन् ।

नेपालीको महान् चाड विजय दशमीको अवसरमा एक साँझ डिनरका लागि पेनीलाई निम्तो गरेका थियौँ ।

म र पेनी आमनेसामने बस्यौँ । ड्रिङ्क रोजाइमा छोडियो । उनी ह्वाइट वाइन लिँदीरहिछन् । मैले पनि साथ दिएँ, ग्लेनफिडिच ह्विस्कीको रोहबरमा । उनले आफूलाई वाइन राखिन् मैले ह्विस्की । दुवैले गिलास ठोक्यौँ र मैले भनँे, “वेलकम टु आवर हाउस एण्ड चियर्स फोर आवर हेप्पी फेस्टिबल दसैँ !”

उनले पनि चियर्स भनिन् र थपिन्, “विस यु एण्ड योर फेमिली हेप्पी फेस्टिबल ।”

हामीबिच देश–देशान्तरका अनेक विषयमा लामा–लामा गफ चले । गफैको व्रmममा पेनीले अचानक सोधिन्, “तिमीलाई जीवनमा सबैभन्दा बढी के मन पर्छ लाल ?”

म मौन भएँ । तत्काल उत्तर फुरेन ।

“भन्न चाहन्नौ ?” उनले मुस्कानसहित सोधिन् ।

मैले पनि मुस्कानसहित नै भनँे, “मलाई सुन्दर महिला, सुन्दर ठाउँको भ्रमण, सुन्दर पुस्तक र लेखन मन पर्छ पेनी ।”

अब मौन हुने पालो उनको थियो तर एकैछिनपछि वाइनको चुस्की लिँदै सोधिन्, “तिमीले अरू सबै अगाडि ‘सुन्दर’ भन्यौ तर ‘लेखन’ को अघि ‘सुन्दर’ भनेनौ नि लाल, किन होला ?”

“मैले मेरो क्षमता अनुसार लेख्ने हो ।” मुस्कानसहित मैले भनँे, “म सुन्दर लेख्ने प्रयास गर्छु तर त्यो सुन्दर भयो वा भएनको निक्र्योल मेरो अधिकारभित्र पर्दैन । त्यो त पाठकको निर्धारण अधिकारभित्र पर्छ । महिला, भ्रमण स्थल, पुस्तक यी सबै अरूद्वारा सृजित वा प्रकृतिप्रदत्त हुन् । यिनलाई सुन्दर वा असुन्दर मूल्याङ्कन गर्ने मेरो अधिकार भित्र पनि पर्छ ।”

मेरो उत्तर सुनेर उनी एकछिनका लागि मौन भइन् । म उनको अनुहारमा आउँदै जाँदै गरेका तरङ्गित भावहरू पढ्न खोजिरहेको थिएँ । अनुहारमा वाइनको हल्का नसा र उमेरले कमाएको अनुभवको सौन्दर्य– निकै सुन्दर संयोजन थियो । म त्यसबाट प्रभावित भएको थिएँ । उनले मतिर हेरिन् । उनको हेराइमा मेरो तर्कलाई स–सम्मान मौन स्वीकृति दिए जस्तो लाग्यो ।

एकछिनपछि वाइनको चुस्की लिँदै पुनः सोधिन्, “सुन्दर महिला भन्नाले ?”

“सुन्दर भन्नाले भौतिक सुन्दरता त हुँदै हो तर त्योभन्दा बढी म वैचारिक सुन्दरताको कदर गर्छु ।” उनको जटिल जिज्ञासाको मैले सिम्पल उत्तर दिएँ ।

पेनी मौन भइन् ।

छोटो अवधिको मौनता मैले तोडेँ, “पेनी त तिम्रो बोलाउने नाम जस्तो छ । तिम्रो पूरा नाम ?”

उनले भनिन्, “छोटकरीमा ‘पेनी’ तर पूरा नाम पेनेलपी हो ।”

“देख्नमा तिम्रो अनुहार ब्रिटिस मूलको जस्तो छ ।” मैले जिज्ञासा राखेँ, “बेलायतबाट आएको ?”

“म होइन मेरो आमा ।” तत्काल भनिन् ।

वाइनको हल्का नसाको असर हुन् सक्छ वा म जस्तो कथा खोज्दै हिँड्ने एक परिपक्व मान्छे भेटेर होला उनीभित्र उकुस–मुकुस भएर बसेको कथा बाहिर निस्कन खोजे जस्तो लाग्यो । उनलाई आफ्नो विगतको पाना पल्टाउने इच्छा जागेर आएछ शायद । उनले प्रारम्भदेखिकै आफ्नो कथा भन्न थालिन्…

“मेरी आमाको जन्म राजा जोर्ज पाँचको राज्याभिषेक भएको वर्ष सन् १९११ मा भएको थियो । मेरी आमा १७ वर्षकी हुँदा अर्थात् १९२८ मा मेरो हजुरबाले बेलायतबाट अस्ट्रेलिया बसाइँसराइ गर्ने योजना बनाउनु भयो ।”

पेनीले आफ्नो कथाको आरम्भ किन आफ्नी आमाको जन्म वर्षदेखि नै भन्न रुचाइन् त्यो त थाहा भएन तर उनको हजुरबाको प्रसङ्गमा मैले बिचमै सोधेको थिएँ, “कतै तिम्रा हजुरबा अस्ट्रेलियामा बेलायतबाट कन्विक्ट भएर आएका त थिएनन् ?”

उनले भनिन्, “होइन लाल, कन्विक्ट्सहरूलाई जग्गा वितरण गर्ने अधिकृत भएर आएका थिए ।”

सुरुमा पेनीका माता–पिता उत्तरी अस्ट्रेलियाको अल्बानी भन्ने ठाउँमा बसेका रहेछन् ।

आफ्नो कथालाई निरन्तरता दिँदै उनले भनिन्–

“२२ वर्षको उमेरमा मेरी आमाको बिहे भएको रहेछ । मेरा दुई दाजु पछि सन् १९४६ मा म जन्मेकी रहेछु ।”

यति भनेपछि पेनी मौन भइन् । म चाहन्थे उनले आफ्नो वैवाहिक जीवनको कथालाई पनि निरन्तरता दिउन् । मैले सोधेँ, “अनि तिम्रो श्रीमान्बारे ?”

मेरो जिज्ञासा सुनेर एकछिन घोरिइन् तर धेरै बेर रोकिइनन् । “वास्तवमा मेरो बिहे त कहिलै भएन । म २० वर्षकी हुँदा म र जेफ्फ लिव इन रिलेसनसिपमा बस्न थाल्यौँ । जेफ्फ मभन्दा दुई वर्ष जेठा थिए र माइनमा काम गर्थें । हाम्रा दुई सन्तान पनि भए । पहिलो छोरी र पछि छोरो । सब ठिक चल्दै थियो तर १९७५ मा म एउटा दुर्घटनामा परेँ र मेरो ढाडमा चोट लाग्यो । अप्रेसनपछि ढाड ठिक भयो तर मेरो कम्मर अलिकति निउरिन गयो । एक जना नर्स मलाई उपचार गर्न घरमै आउँथिन् । तिनै नर्ससँग जेफ्फको प्रेम बसेछ । अनि सन् १९७७ मा उसले मलाई छोड्दियो र उसैसँग घर जाम गरेर बस्न थाल्यो । म दुवै बच्चा लिएर एक्लै बस्न थालेँ ।”

त्यसपछि हामी दुवै धेरैबेर मौन रह्यौँ ।

उनले वाइनको चुस्की लिइन् । मलाई पेनीको त्यसपछिको कथा सुन्ने चाहना भयो तर सोध्ने आँट आइरहेको थिएन । मैले ह्विस्कीको चुस्की लिएँ । गिलास रित्तियो । गिलासमा पुनः एक पेग ‘ग्लेनफिडिच’ थपेँ र गिलास पानीले भरेँ ।

पेनीको गिलास पनि रित्तिसकेको थियो । उनले पनि थपिन् र एक चुस्की लिइन् ।

केहीबेरपछि मैले सोधेँ, “तिम्ले अर्को बिहे गर्ने प्रयास गरिनौ ?”

“गरिनँ”

“कारण भन्न सक्छौ ?”

“मेरो नाम पेनेलपी हो ।” मेरी आमाले म सानो हुँदा भन्नुहुन्थ्यो– तिम्रो नाम पेनेलपी राखेको किन हो थाहा छ ? अनि उनले पेनेलपीको कथा सुनाउनु भयो । पेनेलपी ग्रिस पौराणिक कथाको एउटा पतिव्रता पात्र रहिछन् । पेनेलपी धेरै राम्री थिइन् । उसको विवाह इथाकाका राजा ओडिसियससँग भएको थियो । उनीहरूबाट एउटा छोरा पनि जन्मियो । त्यसैबेला ओडिसियसलाई ट्रोजनको युद्धमा जानपर्ने बाध्यता भयो । ओडिसियस २० वर्षसम्म युद्धमा रहँदै गर्दा पेनेलपीलाई बिहे गर्न सयभन्दा बढीले प्रयास र प्रस्ताव गरेका रहेछन् तर उनी मानिनन् । पेनेलपीको आफ्नो पतिप्रतिको अगाध प्रेम, निष्ठा, पतिव्रता र बफादारीलाई ग्रिक पौराणिक कथामा उनको त्याग र २० वर्षको महान् तपस्या र त्यागका रूपमा हेरिन्छ ।”

एकछिनको मौनतापश्चात् पेनीले भनिन्, “जेफ्फले मलाई छोड्दा म मात्र २९ वर्ष कि थिएँ । म एक्लै बस्न थालेपछि धेरै मान्छेहरूद्वारा विवाहको प्रस्ताव आयो तर म मानिनँ । विवाह नगरी लिव इन रिलेसनसिपमा बस्ने प्रस्ताव पनि आएको थियो । मैले त्यो पनि इन्कार गरेँ ।

ग्रिस पौराणिक कथाकी पात्र पेनेलपी पतिव्रता थिइन् । आफ्नो पतिलाई धेरै माया गर्थिन् तर २१ औँ शताब्दीकी पेनेलपीको कारण भिन्दै थियो । म जेफ्फलाई धेरै माया गर्थें । हामी महिलाले प्रेममा पुरुषलाई आफ्नो सबै सुम्पिन्छौँ तर विश्वासघात पर्दा सदमामा पर्छौं । मलाई पनि त्यस्तै भयो । जेफ्फप्रति घृणा उत्पन्न भयो । बच्चा जन्मिनुअघि र जन्मिँदै गर्दा धेरै पटक कानुनी विवाह गरौँ भन्ने प्रस्ताव राखेकी थिएँ तर उसले पछि गरौँला भन्दै टार्दै गयो । वास्तवमा भन्दा जेफ्फप्रतिको मेरो घृणाले मलाई कता कता पुरुषहरूप्रति नै विरक्त बनायो । कति कामुक हुन्छन् यी लोग्ने मान्छे भन्ने सोचले गर्दा यौन कामुकताप्रति नै मलाई घृणा जागेर आयो । मेरा दुई बच्चा सानै थिए । म स्कुलमा शिक्षिका थिएँ । म अदालत पनि गएँ र मुद्दा लडेँ । कठघरामा उभिएको जेफ्फको निहुरिएको टाउको र निन्याउरो अनुहार देखेर झनै घृणा जन्मियो । जुन पुरुषलाई मैले कुनैबेला अथाह माया गर्थें ऊ दयाको पात्र बनेर कठघरामा उभिएको देख्दा मलाई थाहा लाग्यो कति कमजोर हुँदो रहेछ यो पुरुष प्राणी । त्यसअघि मैले पुरुषलाई निकै बलशाली ठान्थेँ । पुरुषप्रतिको मेरो परिवर्तित विचारमा मेरो मात्र नभएर समग्र नारी जातिकै मौन जित जस्तो माने । जेफ्फले सन्तान संरक्षण मागेको थियो तर म त्यस्तो गैरजिम्मेवार पुरुषलाई मेरा सन्तानको संरक्षण दिन चाहँदैनथे र अदालतले मेरै पक्षमा निर्णय सुनायो पनि ।

मैले रिशा र बिललाई हुर्काएर एउटा योग्य नागरिक बनाउने उत्तरदायित्वलाई प्राथमिकता दिएँ । मलाई शारीरिक सम्बन्धको कहिलै चाहना भएन । म ओडिसियसकी पत्नी पेनेलपीको पतिव्रताको उदाहरण बन्न चाहेकी होइन, म त जेफ्फ जस्ता घृणित पुरुष पात्रलाई तिरस्कार गर्ने पात्र बनेकी थिएँ । ममा यौनप्रति नै घृणाले स्थान लियो ।

रिशा र बिल, तिनको संरक्षण र शिक्षा मेरो एक मात्र ध्येय बन्यो । आज रिशा अदालतमा वकिल छ, वैवाहिक जीवनमा स्थिर छ । बिलको बाटो अलिक फरक छ । ऊ विश्वविद्यालयको प्रोफेसर छ । समाजशास्त्र पढाउँछ तर केटी साथी बनाउन चाहेन । ऊ मलाई धेरै माया गर्छ । मैले उसलाई धेरै सम्झाएँ तर ऊ बिहे गर्न मान्दैन । ऊ भन्छ “मेरो बाउले तपाईंलाई धोका दियो, तपाईंले अर्को बिहे गर्नुभएन यसर्थ म पनि विवाह नगरेरै प्रायश्चित्त गरिरहेको छु ।”

रात छिप्पिन लागेको थियो । पेनीले आफ्नो रित्तो गिलासतिर हेर्दै भनिन, “कथा त यसअघि पनि छ लाल, तर अब म थाकेँ । म जान्छु । मलाई निद्रा लग्यो ।”

मैले त्यसपछिको कथा भन्न कर गरिनँ । जीवनका कथाहरू यति सजिलै कहाँ सकिन्छन् र ? कथाको अन्त्य हुँदैन, कथा त अनन्त हुन्छ ।

हामी दुवै उठ्यौँ र बाहिर निस्क्यौँ । सडक सुनसान थियो । मैले पेनीलाई सडक पार गर्न सहयोग गरेँ । उनको ढोकासम्म पु-याएँ । ढोका खोलेर उनी भित्र पसिन् । सुस्तरी ढोका ढोगिन् । भित्रबाट चुकुल लगाएको आवाज सुनँे ।

मैले गुड नाइट पेनी भनँे ।

मैले भनेको गुड नाइट उनले सुनिन् वा सुनिनन् मलाई थाहा भएन् तर उनले गुड नाइट भनेको मैले सुनिनँ । सडक पार गरेर म घर फर्कें ।

About the author
-एलबी क्षत्री

-एलबी क्षत्री

एलबी क्षत्री नेपाली साहित्यमा निरन्तर कालमा चलाउदै आएका परिचित हस्ताक्षर हुन्

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्