कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज रातिसम्म सबै पदको मतपरिणाम सार्वजनिक भइसक्ने जानकारी दिनुभयो ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ । अहिले केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना जारी छ । निर्वाचन समितिले मतगणनालाई तीव्रता दिँदै बाँकी परिणामसमेत आजै सार्वजनिक गर्ने तयारी गरेको हो ।
सभापतिमा गगनकुमार थापा निर्वाचित भइसक्नुभएको छ । उहाँले ६ हजार ५८४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको थियो । सभापति पदको निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो ।
त्यस्तै, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ । महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ । सहमहामन्त्रीका विभिन्न समूहको मतपरिणाम पनि सार्वजनिक भइसकेको छ । खुलातर्फ अजयबाबु शिवाकोटी र रामहरि खतिवडाले जित हासिल गर्नुभएको छ ।
केन्द्रीय सदस्यतर्फ भने खुला, महिला, प्रदेशगत, समावेशी तथा अन्य समूहको मतगणना भइरहेको छ । खुला केन्द्रीय सदस्यका ४५ पदका लागि प्रतिस्पर्धा छ । उम्मेदवारको सङ्ख्या धेरै हुनु र ठुलो सङ्ख्यामा मतपत्र गणना गर्नुपर्ने भएकाले सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्न समय लागेको हो ।
निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणना अघि बढाइरहेको छ । बाँकी समूहको मतगणना सम्पन्न गरी आज रातिसम्म सम्पूर्ण परिणाम सार्वजनिक गर्ने लक्ष्य समितिले राखेको छ ।
सम्पूर्ण मतपरिणाम सार्वजनिक भएसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पूर्ण संरचना टुङ्गो लाग्नेछ ।