राजनीति

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज रातिसम्म सबै पदको मतपरिणाम सार्वजनिक भइसक्ने जानकारी दिनुभयो ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ । अहिले केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना जारी छ । निर्वाचन समितिले मतगणनालाई तीव्रता दिँदै बाँकी परिणामसमेत आजै सार्वजनिक गर्ने तयारी गरेको हो ।

सभापतिमा गगनकुमार थापा निर्वाचित भइसक्नुभएको छ । उहाँले ६ हजार ५८४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको थियो । सभापति पदको निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो ।

त्यस्तै, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ । महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ । सहमहामन्त्रीका विभिन्न समूहको मतपरिणाम पनि सार्वजनिक भइसकेको छ । खुलातर्फ अजयबाबु शिवाकोटी र रामहरि खतिवडाले जित हासिल गर्नुभएको छ ।

केन्द्रीय सदस्यतर्फ भने खुला, महिला, प्रदेशगत, समावेशी तथा अन्य समूहको मतगणना भइरहेको छ । खुला केन्द्रीय सदस्यका ४५ पदका लागि प्रतिस्पर्धा छ । उम्मेदवारको सङ्ख्या धेरै हुनु र ठुलो सङ्ख्यामा मतपत्र गणना गर्नुपर्ने भएकाले सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्न समय लागेको हो ।

निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणना अघि बढाइरहेको छ । बाँकी समूहको मतगणना सम्पन्न गरी आज रातिसम्म सम्पूर्ण परिणाम सार्वजनिक गर्ने लक्ष्य समितिले राखेको छ ।

सम्पूर्ण मतपरिणाम सार्वजनिक भएसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पूर्ण संरचना टुङ्गो लाग्नेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्