बिहीबार बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौँ । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीक साथै मनसुनी वायुको प्रभाव समेत छ ।
बिहीबार देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा, हिमपातको सम्भावना छ ।
शुक्रबार देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । सो दिन कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।