नेपाल
तीन दिनसम्म वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षाको सम्भावना रहे पनि लगातार झरी नपर्ने जनाएको छ ।
मौसमविद् विनु महर्जनका अनुसार आगामी तीन दिनसम्म विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहे पनि लामो समयसम्म लगातार पानी पर्ने अवस्था छैन ।
मनसुन बाहिरिएको ठानेर ढुक्क भएका काठमाडौँ उपत्यकाका बासिन्दा अचानक वर्षा भएपछि केही चिन्तित भएका छन् ।
विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव कायम छ ।
कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।