नेपाल

त्रिशूलीले कृष्णभीरमा पृथ्वी राजमार्ग बगायो

चितवन । त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक बगाएपछि राजमार्ग अवरुद्ध भएको छ ।

पृथ्वी राजमार्ग निर्माण आयोजनाका मुग्लिनस्थित इन्जिनियर धिरज ढकालका अनुसार त्रिशूली नदीमा आएको बाढीले कृष्णभीर नजिकै सडक बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।

‘‘पृथ्वी राजमार्ग अहिले कुनै पनि अवस्थामा सञ्चालन गर्न सकिने अवस्थामा छैन,’’ उहाँले भन्नुभयो ।

त्रिशूली नदीले तलबाट ‘फ्लो कटिङ’ गर्दा सडक बगेको हो । नदीले करिब ५० मिटर लम्बाइसम्म सडक बगाएको र कतिपय स्थानमा पाँच मिटरसम्म सडक कटान भएको उहाँले जानकारी दिनुभयो । कतिपय स्थानमा सडक चिरिएकाले थप भासिने सम्भावना रहेको उहाँले बताउनुभयो ।

‘‘राजमार्ग खुलाउने विकल्प डाइभर्सन हो । तर, कृष्णभीरमा विगतमा पहिरोले धेरै दुःख दिएकाले त्यहाँबाट डाइभर्सन निर्माण गर्ने सम्भावना कम छ । बगेकै स्थानमा ‘टो वाल’ बनाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले राजमार्ग खुल्न केही समय लाग्नेछ,’’ उहाँले भन्नुभयो ।

केही समयअघि सडक बगेपछि अहिले पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन बन्द गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी निरीक्षक अनिल थापाले पृथ्वी राजमार्गको वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ जान सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्