नेपाल

खुल्यो रसुवा पुग्ने वैकल्पिक सडक मार्ग, पृथ्वी राजमार्ग सञ्चालनमा

काठमाडौँ । भोटेकोसीमा आएको बाढीले रसुवा सडक खण्ड तहसनहस पारेपछि आवत–जावतका लागि वैकल्पिक मार्गहरु खुलाइएको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पासाङ ल्हामु राजमार्ग क्षतविक्षत भएपछि सरकारले रसुवालाई पुनः राष्ट्रिय सडक सञ्जालसँग जोड्न वैकल्पिक सडक मार्ग सञ्चालनमा ल्याएको हो।

पूर्वाधार विकास मन्त्रालयका अनुसार काठमाडौँ–टोखा–छहरे, गड्खार पुल–आप्र–नर्जा, लच्याङ–सरमथली–पाटीखर्क र बोगटीटार–कालिकास्थान–धुन्चेलाई वैकल्पिक मार्गको रुपमा खुलाइएको छ । यो नयाँ मार्ग भएर चार चक्के साना सवारीसाधनहरू आवत–जावत गर्न सक्नेछन् ।

यो वैकल्पिक मार्ग खुलेपछि अब राहत वितरण, उद्धार कार्य र अत्यावश्यक सामग्री ढुवानीमा ठूलो सहजता मिल्ने अपेक्षा गरिएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत सो जानकारी गराउनुभएको हो। बाढीले रसुवाभित्र मात्रै १३ वटा पुल र पासाङ ल्हामु राजमार्गको करिब ४० किलोमिटर सडक खण्ड बगाएपछि यो जिल्ला पूर्ण रूपमा सम्पर्क विच्छेद भएको छ।

पृथ्वी राजमार्गको गल्छी बैरेनी खण्ड शुक्रबार बेलुकीदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले बाढीबाट राजमार्गमा थुप्रिएका लेदो हटाउने काम सम्पन्न भएको र बेलुकादेखि सो राजमार्ग सञ्चालनमा आएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘ ‘सडक विभागले सवारीसाधन सञ्चालनका लागि राजमार्ग तयार गर्छ । सवारीसाधन सञ्चालनमा ल्याउनका लागि अनुमति दिने काम प्रशासनको हो । सो सम्बन्धमा प्रशासनले निर्णय गर्छ । मलेखुपट्टि पोखरी, बांगे र गलौदीमा सातसय मिटर लेदो हटाउने काम अन्तिम चरणमा छ । यो बेलुकीसम्म लाग्न सक्छ । यो सकिनासाथ पृथ्वी राजमार्ग पुरै सुचारु हुन्छ ।’’

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्