साहित्य समाचार
कार्टुनिस्ट रवीन्द्र मानन्धरको ‘मन्त्रपुरकी माया’ बजारमा
काठमाडौँ । राजा जयपृथ्वीबहादुर सिंहको जन्मजयन्तीका अवसरमा कार्टुनिस्ट तथा लेखक रवीन्द्र मानन्धरको ‘मन्त्रपुरकी माया’ प्रकाशित भएको छ।
विगत तीन दशकदेखि कार्टुनिस्टका रूपमा परिचय बनाएका रवीन्द्रले लामो समयदेखि बालसाहित्यका लागि पनि चित्र बनाउँदै आउनुभएको छ ।
केही वर्षअघिदेखि उहाँले बालसाहित्यमा पनि कलम चलाउँदै हुनुहुन्छ । मानन्धरको आफ्नै चित्र अनि कथामा आधारित केही चित्रकथा यसअघि नै प्रकाशित भइसकेका छन् । ‘मन्त्रपुरकी माया’ उहाँको पहिलो बालउपन्यास हो ।
नेपालको ग्रामीण परिवेशमा हुर्कंदै गरेकी विद्यार्थी ‘माया’ लाई उपन्यासमा मूल पात्रका रूपमा चित्रण गरिएको छ । १०२ पृष्ठको पुस्तक लेखक आफैँले प्रकाशन गर्नुभएको हो ।