बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित
काठमाडौँ । अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’ पुरुष टोलीले लगातार दोस्रो पराजय व्यहोरेको छ ।
नेपाल आज बङ्गलादेश हाई–परफर्मेन्स–११ सँग नौ विकेटले पराजित भएको हो ।
नेपाल ‘ए’ दिएको १०० रनको झिनो लक्ष्य बङ्गलादेशले १०.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । उसका लागि जिशान आलमले अर्धशतकीय पारी खेले । उनले २९ बलमा चार छक्का र तीन चौकासहित अविजित ५२ रनको पारी खेलका हुन् ।
नेपालका लागि बलिङमा साहब आलमले मात्र एक विकेट लिन सके । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९९ रन बनायो ।
नेपालका लागि कुशल भुर्तेलले ४० बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ४६ रनको पारी खेले । यस्तै, साहब आलम र विपिन खत्रीले समान ११–११ तथा रिजन ढकालले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् । बङ्गलादेशका लागि बलिङमा एमडी रुबेलले चार ओभरमा १८ रन दिएर सर्वाधिक चार विकेट लिए ।
जारी प्रतियोगितामा नेपाल ‘ए’ ले तेस्रो खेलमा सोमबार होबार्ट हुरिकेन्स एकेडमीविरुद्ध खेल्ने तालिका छ । नेपालले पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइक विरुद्ध आठ विकेटले पराजय व्यहोरेको थियो ।