राजनीति

सवारी अवरोध जसले गरेको भए पनि कारबाही हुन्छ: सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही सञ्चारगृहका प्रवेशद्वारमा अवरोध गर्ने गरी सोमबार सवारीसाधन राख्ने जोसुकै भए पनि कारबाही हुने बताउनुभएको छ ।

सोमबार केही सञ्चार गृह र नेपाली काँग्रेसका सभापति गगनकुमार थापाको घर अगाडि प्रवेशद्वारलाई नै असर गर्ने गरी निजी नम्बर प्लेटका सवारीसाधन पार्किङ गरिएको भेटिएको थियो । ती सवारीसाधनलाई प्रहरीले हटाउनुका साथै जरिवाना गरेर छोडेको थियो ।

आज सिंहदरबारमा पत्रकारहरूले यसै विषयमा राखेको जिज्ञासामा सभापति लामिछानेले ती सवारीसाधन रास्वपाकै कार्यकर्ता या जसले राखेका भए पनि कारबाही हुने स्पष्ट गर्नुभएको हो ।

सभापति लामिछानेले सोमबारको घटनाका बारेमा पार्टीले नै विज्ञप्ति प्रकाशन गरेर रास्वपा सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको र सवारी अवरोध उत्पन्न गर्नेमाथि कारबाही हुने जानकारी गराइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस घटनाका बारेमा सबैभन्दा पहिला रास्वपाले नै विज्ञप्ति निकालेर यसको विरोध गर्दै दोषीमाथि कारबाही गर्ने धारणा सार्वजनिक गरेको हो । रास्वपा त्यस्तो पार्टी हो जसले आफ्ना सांसदलाई ७२ घण्टाभित्रै कारबाही गरेको इतिहास पनि छ । त्यसैले यसमा जोसुकै एवं रास्वपाकै कार्यकर्ताको संलग्नता भए पनि कारबाही हुन्छ ।”

प्रधानमन्त्री वालेन्द्र शाह र आफूबीच हालै भएको भेटवार्ताका सम्बन्धमा राखिएको एक जिज्ञासामा सभापति लामिछानेले सो भेटमा सुकुम्वासी समस्याको दिगो र छिटो समाधान, विकसित विविध परिस्थिति, राष्ट्रिय राजनीति र पार्टीका विविध विषयमा कुराकानी भएको बताउनुभयो । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्