राजनीति

गायत्री साह सहितको रातो पासपोर्ट दुरुपयोग मुद्धामा तीन जना दोषी ठहर

पहिलो संविधानसभा २०६४ का तीन सदस्यहरूले हैसियतले प्राप्त भएको विशिष्ट कूटनीतिक राहदानी आर्थिक लाभका निम्ति बिचौलियालाई बिक्री गरेको प्रहरीको अभियोग थियो ।

काठमाडौँ । उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र किर्ते कागजसम्बन्धी मुद्धामा तत्कालीन संविधानसभाका तीन सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाडौँको निर्णयलाई सदर गरेको छ ।

न्यायाधीशद्वय खड्कबहादुर केसी र गोपालप्रसाद बाँस्तोलाको संयुक्त इजलासले यही असार २३ गते संविधानसभा सदस्यहरू गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादवलाई दोषी ठहर हुने जिल्लाको निर्णय सदर गरेको हो । उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार संविधानसभाका तीन सदस्यलाई जिल्लाले ठहर गरेको जनही पाँच महिना कैद र रु ५०० जरिबाना हुने फैसला उच्च अदालतले सदर गरेको हो । जिल्ला अदालत काठमाडौँले उक्त निर्णय २०७१ जेठ २१ गते सुनाएको थियो ।

पहिलो संविधानसभा २०६४ का तीन सदस्यहरूले हैसियतले प्राप्त भएको विशिष्ट कूटनीतिक राहदानी आर्थिक लाभका निम्ति बिचौलियालाई बिक्री गरेको प्रहरीको अभियोग थियो । अदालतले सोही अभियोगमा डिलबहादुर घर्ती, गोपाल बानियाँँ, मनोजकुमार कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीलाई पनि किर्ते कागज कसुरमा दोषी ठहर गरी जनही एक वर्ष कैद र रु पाँच लाख ५४ हजार जरिवाना हुने ठहर गरेको छ ।

नक्कली राहदानी प्रयोग गरी अस्ट्रेलिया जान खोजेका म्याग्दीका पृथ्वी छन्त्याललाई जिल्ला अदालत काठमाडौँले एक वर्ष कैद र रु ५०० जरिवानाको सजाय सुनाएको थियो । उच्च अदालतले सोही निर्णय सदर गरेको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्