एसीसी यु-१९ महिला प्रिमियर कपमा नेपालद्वारा हङकङ १८१ रनको अन्तरले पराजित
नेपालकी कप्तान सोनी पाख्रिन बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरिन्। उनले ४ ओभरमा ४ रन मात्रै दिएर ४ विकेट लिइन्।
काठमाडौँ । एसीसी यु-१९ महिला प्रिमियर कपमा हङकङलाई नेपालले १८१ रनको अन्तरले पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा नेपालले हङकङलाई १ सय ८१ रनको फराकिलो अन्तरले हराउँदै आफ्नो जित हासिल गरेको हो। यसअघि नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई १ सय ५१ रनले पराजित गरेको थियो।
आज भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर २ सय ११ रनको विशाल स्कोर खडा गरेको थियो। नेपालका लागि कप्तान सोनी पाख्रिनले ६० बलमा सर्वाधिक ९० रन बनाउँदा उनले १३ चौका र १ छक्का प्रहार गरेकी थिइन् । त्यस्तै ओपनर सावित्री धामी ३६ बलमा ५२ रनको अर्धशतकीय इनिङ खेलिन्।
त्यस्तै अलिसा कुमारी यादवले १२ बलमा २३ रनको इनिङ खेलिन्। हङकङका लागि निम्रा अरबले दुई विकेट लिइन्।
२ सय १२ रनको उच्च लक्ष्य पछ्याएको हङकङलगातार विकेट पतनको सिकार भयो। हङकङकी वङ विङ किउ हेलीले मात्रै दोहोरो स्कोरमा रन बटुल्न सकिन्। उनले टिक्नका लागि अत्याधिक प्रयास गरेपनि रन स्कोर बनाउन भने सकिनन्। उनले ४५ बलमा १३ रन जोडेकी थिइन्।
नेपालकी कप्तान सोनी पाख्रिन बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरिन्। उनले ४ ओभरमा ४ रन मात्रै दिएर ४ विकेट लिइन्। मनिषा उपाध्यायले २ विकेट हात पारिन्।