राजनीति

आत्मदाहको घटनादेखि बाढी, पहिरो, दुर्घटना लगायतका विषयमा सरकारको ध्यानाकर्षण 

काठमाडौँ।  सांसदहरुले आत्मदाहको घटना, काठमाडौँमा उत्पन्न समस्या, बाढी, पहिरो, दुर्घटना लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले गणेश नेपालीसहित तीन जनाले आत्मदाह गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै देशमा उत्पन्न समस्याको समयमा नै समाधान गर्न सरकारसँग माग गर्नुभयो ।

सांसदहरुले गणेश नेपालीको घटना र त्यसपछि राजधानीमा भएका घटनाहरू निकै गम्भीर भएको भन्दै आमसञ्चार माध्यम, दलका नेताका घर र न्युरोड लगायतका स्थानमा गाडी तेर्स्याइयो विषयमा सत्यतथ्य छानविन गर्न माग गर्नुभयो ।

सांसदहरुले देशका विभिन्न भागमा अविरल वर्षापछि बाढी पहिरोको समस्या बढिरहेको  र बाढी पहिरोबाट धेरै मानिस जोखिमा रहेको भन्दै नागरिकको सुरक्षाका लागि प्रभावकारी कदम चाल्न र पूर्व तयारी गर्न सरकारसँग माग गर्नुभयो  ।

सांसदहरुले पछिल्लो समय कर्मचारीहरूले सेवाबाट राजीनामा दिने क्रम बढिरहेको तथा निजामती विधेयकमा प्रस्तावित व्यवस्था, राजनीतिक हस्तक्षेप र काम गर्ने अवस्था नरहेका कारण समस्या उत्पन्न भइरहेको भन्दै पुराना र अनुभवी कर्मचारीलाई पनि सँगै लिएर कर्मचारी प्रशासनमा आधुनिकीकरण गर्नु आवश्यक रहेको बताउनुभयो ।

सांसदहरुले सुनसरी जिल्लाका विभिन्न भागमा विद्युत् आपूर्ति सहज नहुँदा आम नागरिक मारमा परिरहेको भन्दै दिनमा घण्टौँ विद्युत् आपूर्ति नहुने समस्या तत्काल समाधान गरी उपभोक्ताको अधिकार सुनिश्चित गर्न माग गर्नुभयो ।

सांसदहरुले विस्थापित सुकुमबासीहरु राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीले डुबाएको तथा उद्धारमा खटिएका व्यक्तिहरूमाथि दुर्व्यवहार समेत भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैबीच, प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी देशहित विपरीतको अभिव्यक्ति फिर्ता नलिएको भन्दै विरोध कायम राखेका छन् ।

बैठकमा प्रतिपक्षी दलका सांसदहरुले देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी सरकारको भए पनि प्रधानमन्त्री शाहले नै नेपालले भारतको सीमा नेपालले मिचेको भनेर गलत अभिव्यक्ति दिएकाले उक्त अभिव्यक्ति फिर्ता लिएर संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राख्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्