राजनीति

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आगामी १५ औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री, स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न डिजिटल प्रविधि र महिला निर्वाचन अधिकृतलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालयमा समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले महाधिवेशनलाई तोकिएको समयावधिभित्रै सम्पन्न गर्न विभिन्न चारबुँदे सरोकारवाला समूहसँग सकारात्मक सहयोगको आग्रहसहित निर्णय गरेको हो । समितिले उक्त निर्णयहरू केन्द्रीय कार्यसमिति समक्ष जानकारीका लागि पेस गर्नेसमेत जनाएको छ ।

बैठकले १५ औँ केन्द्रीय महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्ने लक्ष्य राखेको छ । जस अन्तर्गत निर्वाचन प्रक्रियालाई डिजिटलाइजेसन अर्थात् पेपरलेस (कागजविहीन) प्रविधि वा इभीएम (विद्युतीय मतदान मेसिन) प्रविधिलाई प्राथमिकताका साथ अगाडि बढाइने सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, निर्वाचन प्रक्रिया सुरु भइसकेपछि निर्वाचनसम्बन्धी आचारसंहिता लागू हुने भएकाले निर्वाचन अवधिमा विधानमा अन्यथा उल्लेख भएको अवस्थामा बाहेक आचारसंहिता पूर्ण रूपमा पालना गर्न केन्द्रीय कार्यसमितिलगायत सबै तह र निकायहरूलाई समितिले आग्रह गरेको छ ।

समावेशिता र महिला सहभागितालाई प्रोत्साहन गर्न काठमाडौँ उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका निर्वाचन अधिकृतका साथै ती जिल्लाअन्तर्गतका १५ वटै निर्वाचन क्षेत्र, महानगरपालिका एवं नगरपालिकामा महिला कानुन व्यवसायीलाई निर्वाचन अधिकृतका रूपमा प्राथमिकताका साथ खटाइने निर्णय समितिले गरेको छ ।

निर्वाचन कार्यलाई व्यवस्थित बनाउन स्वयंसेवकका रूपमा सहयोग गर्न इच्छुक कानुन व्यवसायी तथा अन्य पेसागत समूहलाई आह्वान गरी रोस्टर तयार गरिने विज्ञप्तिमा जनाइएको छ । त्यसरी तयार पारिएको रोस्टरमा रहेका व्यक्तिहरूलाई आवश्यक अभिमुखीकरण कार्यक्रममा संलग्न गराई निर्वाचन अधिकृतका रूपमा खटाइने समितिले स्पष्ट पारेको छ । महाधिवेशनलाई मर्यादित बनाउन यसअघि निर्वाचन समितिमा रहेका संयोजक, सदस्य तथा निर्वाचन अधिकृतको अनुभव र राय सुझावलाई समेत समेटेर अघि बढ्ने समितिले निर्णय गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्