खेलकुद

इरानले न्युजिल्याण्डसँग २-२ को बराबरी खेलेर भावनात्मक र राजनीतिक विश्वकपको सुरुवात गर्‍यो

लस एन्जलस । सोमबार राति न्युजिल्यान्डसँग २-२ को बराबरी खेल्दै करोडौ दर्शकको भावनात्मक समर्थन सहित इरानले राजनीतिक रूपमा प्रभावित विश्वकपको सुरुवात गर्‍यो।

लस एन्जलस स्टेडियममा भएको खेलपछि समूह ‘जी’ मा इरान र न्युजिल्यान्ड समान एक–एक अंकसहित शीर्ष दुई स्थानमा रहेका छन्। यही समूहका बेल्जियम र इजिप्टको पनि समान एक–एक अंक छ।

न्युजिल्यान्डका लागि इजिल जस्टले दुवै गोल गरे। खेलको सातौं मिनेटमा उनले इरानी पेनाल्टी क्षेत्रभित्र प्राप्त बललाई उत्कृष्ट नियन्त्रणमा लिँदै गोल गरेपछि न्युजिल्यान्डले अग्रता बनाएको थियो।

इरानले ३२औं मिनेटमा खेल बराबरीमा ल्यायो। न्युजिल्यान्डको पेनाल्टी क्षेत्रमा प्राप्त अवसरलाई रमिन रेजाइयनले चलाखीपूर्ण ढंगले सदुपयोग गर्दै गोल गरे। त्यसअघि २४औं मिनेटमा मेहदी तारेमीको प्रहार पोस्टमा लागेको थियो।

दोस्रो हाफको ५४औं मिनेटमा जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्यान्डलाई पुनः अग्रता दिलाए। मैदानको मध्यभागबाट सुरु भएको आक्रमणलाई उनले आकर्षक गोलमा परिणत गरेका थिए। यससँगै उनी विश्वकप इतिहासमा एकै खेलमा दुई गोल गर्ने पहिलो न्युजिल्यान्डेली खेलाडी बने।

तर न्युजिल्यान्डको अग्रता धेरै समय टिक्न सकेन। खेलको ६३औं मिनेटमा अनमार्क रहेका मोहम्मद मोहेबीले हेडमार्फत गोल गर्दै इरानलाई पुनः खेलमा फर्काए र खेल २–२ को बराबरीमा टुंगियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्