साहित्य समाचार

नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे तेस्रो साता हुन लागेको नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । 

शनिबार आयोजित पत्रकार सम्मेलनमा अनेसासको बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् । नेपालसहित विश्वका विभिन्न मुलुकबाट १२५ जना साहित्यकार, लेखक तथा पत्रकारहरूको यसमा सहभागिता रहने छ । विश्वकर्माले भने, ‘त्यसबाहेक कोलोराडो राज्यका ५० भन्दा बढी स्रष्टा र साहित्यप्रेमीको उपस्थिति रहने छ ।

बीओटी सभापति विश्वकर्माले सम्मेलनमा मदन पुरस्कार बिजेता डा. नवराज लम्साल, नीलम कार्की निहारिका, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, ख्यातिप्राप्त अंग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, होमनाथ सुवेदी, राधेश्याम लेकाली, गोवर्द्धन पूजा, पुरु सुवेदी, मोहन सिटौला, भुटानी साहित्य परिषद्का अध्यक्ष खेम रिजाल ऊर्जा, पत्रकार तथा लेखक सुधीर शर्मा, बबिता बस्नेत, बसन्त बस्नेत, बिपुल पोखरेल, नारायण श्रेष्ठ, प्रेम बाँनिया, सुरज भण्डारीलगायत १७५ जनाभन्दा बढीको सहभागिता रहने बताए ।

उनले चारदिनसम्म सञ्चालन हुने सम्मेलनको अन्तिम दिन सहयोगी व्यक्ति तथा संघसंस्थाहरूलाई सम्मान गरिने जानकारी दिए ।

अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनका लागि कोलाराडोको वेष्टमिनिष्टरस्थित होटलमा ५० भन्दा बढी कोठा बुक गरिएको जानकारी दिए । २२ मेमा अतिथिहरूको स्वागतमा रात्रिभोज आयोजना गरिने जानकारी दिएका महासचिव सिटौलाले सम्मेलनको औपचारिक उद्घाटन २३ मेमा गरिने बताए ।

उनले २३ र २४ मेमा विभिन्न सत्रहरूमा ख्यातिप्राप्त  साहित्यकार तथा लेखकहरूबिच साहित्यका विभिन्न विधामा बहस गरिने समेत जानकारी दिए । सिटौलाले सम्मेलनका दुई दिन विहान योगा र साँझ काव्य उत्सव आयोजना गरिने बताए ।

उनले सम्मेलनको पहिलो दिन ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ शीर्षकमा मदन पुरस्कार विजेता निलम कार्की निहारिका, पत्रकार तथा लेखकद्वय सुधीर शर्मा र बसन्त बस्नेतबिच हुने बहसको सहजीकरण पत्रकार नारायण श्रेष्ठले गर्ने जानकारी दिए । चौथो तथा अन्तिम दिन अतिथिहरूलाई कोलाराडोको ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरूको भ्रमण गराउने कार्यक्रम रहेको पनि सिटौलाले बताए ।

अनेसासकी केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीले सम्मेलनमा ५३ हजार डलर खर्च हुने अनुमान गरिएकोमा ३५ हजार डलर संकलन भइसकेको र बाँकी रकम पनि चाँडै संकलन हुने बताइन् । सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न स्वस्फूर्त ढंगले मनकारी व्यक्ति तथा विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भइरहेको अधिकारीले जानकारी दिइन् ।

अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष तथा सम्मेलनका संयोजक किरण अधिकारीले सम्मेलनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिए । उनले सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न कोलोराडोका विभिन्न संघसंस्था र व्यक्तिहरूबाट उत्साहजनक रुपमा सहयोग प्राप्त भएको बताए ।

सम्मेलन संयोजक अधिकारीले अतिथिहरूका लागि आवास, भोजन र भ्रमणको उचित प्रबन्ध मिलाइएको बताए । उनले विश्वका विभिन्न मुलुकबाट आउने अतिथिहरूलाई कलरफुल कोलोराडोमा स्वागत गर्न आतुर रहेको सुनाए ।

सम्मेलनमा फुड पार्टनरका रुपमा जोडिएका कोलोराडोस्थित नेपाली रेष्टुरेष्टहरूले अतिथिहरूलाई स्वादिष्ट नेपाली परिकारको प्रबन्ध गर्ने अधिकारीले जानकारी दिए । सांस्कृतिक समितिका संयोजक विजयदेव अधिकारीले सम्मेलनमा विभिन्न जातजाति र समुदायका झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने बताए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्