एक्सक्लुसीभ

देशलाई सही दिशा देखाउने नेतृत्व कांग्रेसले दिन्छ : कांग्रेस सभापति थापा

जनकपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई सुधार्ने र सम्हाल्ने जिम्मेवारी कांग्रेसले लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

शुक्रबार जनकपुरधाममा आयोजित नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीले योजनाबद्ध रूपमा तीन तहमा काम गर्ने तयारी गरेको जानकारी दिनुभयो।

उहाँल्े पहिलो तहमा राष्ट्रिय स्तरको दीर्घकालीन सोच र योजना निर्माण गर्ने बताउनुभयो। दोस्रो तहमा मधेशका विशेष मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्ने जानकारी गराउँदै उहाँले तेस्रो तहमा स्थानीय तहका समस्या उठाउँदै सभा–जुलुसभन्दा बढी घर–घर पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्ने जानकारी गराउनुभयो ।

उहाँले वर्तमान अवस्थामा देशलाई सही दिशा देखाउने नेतृत्व कांग्रेसले नै अघि सार्ने दाबी गर्नुभयो।

सभापति थापाले पार्टीभित्र अनुशासन मजबुत बनाउन अनुशासन समिति गठन गरी निगरानी गरिने जानकारी दिनुहुँदै नयाँ–पुराना तथा पार्टीबाट टाढा भएका नेता–कार्यकर्तालाई समेत एकताबद्ध गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

सभापति थापाले धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका कार्यकर्तासँग भेटघाटसमेत गर्नुभएको छ। साथै मधेश प्रदेशभर पार्टीको प्रचार–प्रसारलाई अझ प्रभावकारी, व्यवस्थित र व्यापक बनाउने विषयमा मार्गदर्शन तथा विचार–विमर्श गरिएको थियो।

बैठकमा आगामी माघ ७ गते आयोजना हुने मधेश सभाको तयारी, व्यवस्थापन तथा समन्वयका विषयमा विस्तृत छलफल गरिएको कांग्रेस मधेश प्रदेश समितिले जनाएको छ।

बैठकमा कांग्रेस मधेश प्रदेशका सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, आठ वटै जिल्लाका सभापति, प्रतिनिधि सभा सदस्य, उम्मेदवारलगायतको उपस्थिति रहेको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.