एक्सक्लुसीभ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी, राष्ट्रिय सभाका उम्मेदवार टुङ्गो लगाइँदै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउने विषयमा छलफल भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिका नेता तथा पार्टीका प्रदेश सभापतिहरुले आ–आफ्नो धारणा राख्नुभएको छ ।

पौडेलले भन्नुभयो, “आजको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा सबै प्रदेश सभाका सभापतिहरु आमन्त्रित सदस्यका रुपमा बोलाइएको थियो । हाम्रो पार्टीको विधानतः सम्बन्धित प्रदेशको सभापति अनिवार्य उपस्थिति गराउने भन्ने छ । बैठकमा १६ जना नेताहरुले बोल्नुभएको छ ।

उहाँले राष्ट्रिय सभाका लागि उम्मेदवार भोलि पुनः बस्ने बैठकले टुङ्गो लगाउने बताउनुभयो ।उहाँले भन्नुभयो, “आजको बैठक शतप्रतिशत राष्ट्रिय सभाका उम्मेदवार टुङ्गो लगाउन छलफल भएको हो । त्योभन्दा अरु कुनै एजेण्डामा छलफल भएन । राष्ट्रिय सभाका उम्मेदवारका विषयमा भोलि हामी टुङ्ग्याउँछौँ ।”

उहाँका अनुसार कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक मङ्गलबार बिहान ११ बजे पुनः बस्ने छ । बैठकमा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियार र कार्यसम्पादन समितिका सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी, डा नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउँदले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

यस्तै, बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरू डा मीनेन्द्र रिजाल र मीन विश्वकर्मा, प्रदेश सभापतिहरू अमरसिंह पुन (लुम्बिनी प्रदेश) र वीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश)ले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.