एक्सक्लुसीभ

नेपाली कांग्रेसको विशेष महाधिवेशन पौष २७-२८ गते भृकुटीमण्डपमा

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन गर्न ‘हल बुकिङ’ गरिएको छ। काठमाडौंको प्रदर्शनीमार्थस्थित भृकुटीमण्डपमा दुई दिनका लागि हल बुकिङ गरिएको हो।

केन्द्रीय सदस्य प्रतिमा गौतमले केन्द्रीय समितिले ल्याएको १५ औं महाधिवेशन कार्यतालिकाअनुसार हिजो वडा र आज पालिका अधिवेशन गरिने भने पनि नभएकोले अब विशेष महाधिवेशन गर्न लागिएको र त्यसका लागि हल बुकिङ गरिएको संचार माध्यमलाई जानकारी दिइन्।

‘पुस २६ गतेदेखि १५ औं महाधिवेशन गर्ने गरी केन्द्रीय समितिले कार्यतालिका ल्याएको थियो। त्यसअनुसार हिजो वडा र आज पालिका अधिवेशन हुनुपर्ने कार्यतालिका हो, हुन सकेन,’ उनले भनिन्, ‘विधानको धारा १७ को २ अनुसार अब विशेष महाधिवेशन हुन्छ, त्यसका लागि दुई दिन हल बुकिङ गरिएको हो।’

केन्द्रिय सदस्य गौतमका अनुसार पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपको हल बुकिङ गरिसकिएको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मामाथि विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशन आयोजना गर्न दबाब दिइरहेका छन्।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २९ गते हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरे पनि उक्त मागलाई सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापतिले अघि बढाएका छैनन्।

विधानअनुसार महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएको ३ महिनाभित्र महाधिवेशन आयोजना गर्नुपर्ने हुन्छ। उक्त समय पुस २८ गतेसम्म छ।

नियमित महाधिवेशन नभएको र विधानअनुसार विशेष महाधिवेशन अब बाध्यकारी बनेको भन्दै महामन्त्रीद्वय थापा र शर्माले पनि सभापति देउवालाई भेटेर ध्यानाकर्षण गराउने तयारी गरेका छन्।

महामन्त्रीद्वयले नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुने बताउँदै आएका छन् तर सभापति देउवा पक्षले भने विशेष महाधिवेशन गर्न नहुने बताइरहेका छन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्