एक्सक्लुसीभ

‘विशेष महाधिवेशनको हस्ताक्षर प्रमाणीकरण भए पार्टी विभाजन हुनसक्छ’

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले विभाजनसम्मको अवस्था ल्याउन सक्ने चेतावनी दिएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित वा विशेष महाधिवेशनबारे पार्टी केन्द्रीय समिति बैठकले निर्णय गर्न नसके पार्टी विभाजनको अवस्था आउन सक्ने चेतावनी दिएका हुन् ।

उनले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको बताउँदै नेता कोइरालाले उक्त हस्ताक्षर प्रमाणीकरणको प्रक्रिया सुरु हुने दिनदेखि नै काँग्रेस विभाजनको सम्भावना रहेको समेत बताए ।

‘विशेष महाधिवेशनको माग गर्ने ५५ प्रतिशत साथीहरू जो हुनुहुन्छ । त्यसमा हस्ताक्षर प्रमाणीकरण सुरु गरेको दिनदेखि नै विभाजन हुने सम्भावना हुन्छ,’ उनले भने, ‘४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौँ भने पनि विभाजन त भयो नि । बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना देखियो ।’

केन्द्रीय समिति बैठकले नै निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ ।

बहुमत हस्ताक्षरको बलमा महाधिवेशन हुनेमा शंका नरहे पनि पार्टी एकता जोगाउन केन्द्रीय समितिकै बैठकबाट महाधिवेशनसम्बन्धी निर्णय लिनुपर्नेमा उनले जोड दिए ।

‘मैले केन्द्रीय समितिको बैठकले नै निर्णय गर्‍यो भने शतप्रतिशत महाधिवेशनकै पक्षमा हुन्छन् भनेर त्यहीबाट निर्णय गरौँ भन्ने मेरो मान्यता हो,’ उनले भने, ‘५५ प्रतिशत हस्ताक्षर जुन भएको छ त्यसमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन । बाध्यात्मक हुन्छ । तर पार्टी विभाजनतिर नजाओस् भनेर हामीले केन्द्रीय समिति बैठकबाटै निर्णय खोजेका हौँ ।’

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्