नेपाल

विपी राजमार्गमा सवारी आवागमन बन्द

बनेपा । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विपी राजमार्ग भएर चल्ने सवारी आवागमनमा रोक लगाएको छ । पनौतीको माथिल्लो क्षेत्र र नमोबुद्धलगायतका स्थानमा वर्षा भइरहेकाले तत्कालका लागि राजमार्गमा सवारी सञ्चालन बन्द गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले मङ्गलबार साँझ रोसी खोलाको जलाधार क्षेत्र (पनौती र नमोबुद्ध) मा ठुलो वर्षा भएकाले खोलामा पानीको सतह बढ्न गएकाले सुरक्षाका लागि सवारी रोक्नुपरेको बताउनुभयो । उहाँका अनुसार पानीको सतह बढ्दा राजमार्ग भएर यात्रा गर्ने यात्रु र सवारी साधन जोखिममा पर्न सक्ने भएकाले यो निर्णय लिइएको हो ।

“अहिलेलाई हामीले जहाँ-जहाँ सवारी साधन पुगेका छन्, त्यहीँ सुरक्षित रूपमा रोकेका छौँ । वर्षाको अवस्था हेरेर मात्र पुनः सञ्चालन गरिनेछ,” प्रहरी नायब उपरीक्षक विष्टले भन्नुभयो । उहाँले सडकको अवस्थाबारे जानकारी लिनका लागि प्रहरीको नियन्त्रण कक्ष १०० र १०३ मा सम्पर्क गर्न अनुरोध समेत गर्नुभयो ।

गत वर्ष असोज दोस्रो साता आएको बाढीका कारण विपी राजमार्गको भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक खण्डमा क्षति पुगेको थियो । बाढीले सडक बगाएपछि हाल उक्त क्षेत्रमा डाइभर्सन निर्माण गरी खोलाकै किनारबाट सवारी साधन सञ्चालन हुँदै आएका छन् । नदी किनारकै अस्थायी मार्ग भएकाले वर्षा हुनासाथ यहाँको आवागमन असुरक्षित बन्ने गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्