नेपाल

विद्यालयबाटै हराए कोहलपुरका तीन विद्यार्थी

नेपालगन्ज। बाँकेको कोहलपुर नगरपालिका –३ स्थित कोहलपुर बागेश्वरी इङ्ग्लिस मिडियम स्कूलमा अध्ययनरत तीन जना विद्यार्थी विद्यालयबाटै हराएका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोबिन्द्र खड्का असार २२ गते अपरान्हदेखि विद्यालयबाट सम्पर्कबिहीन भएको खबर आएको बताउनुभयो ।

उहाँले प्रहरीलाई जानकारी हुने बित्तिकै बालकको खोजी कार्य सुरु गरिएको जनाउँदै आफन्त र विद्यालयका अन्य बालकबाट प्राप्त केही सूचनाबाट उनीहरु भारत गएको आशंका गरिएको बताउनुभयो ।

‘तीन जनामध्ये एक जनाले प्रयोग गर्ने मोबाइलमा भारतीय सिमकार्ड प्रयोग भएको देखिन्छ । अरु दुई जनाको फेसबुक पनि सक्रिय अवस्थामा पाइयो’ प्रहरी नायब उपरीक्षक खनालले भन्नुभयो ।

उहाँँले भारतमा पनि आफन्तहरुको माध्यमबाट खोजी गर्ने काम भइरहेको बताउनुभयो । बालकहरु हराएको तीन दिन बितिसक्दा पनि अवस्था अज्ञात रहेको गुनासो आफन्तबाट आएको छ ।

बागेश्वरी इङ्ग्लिस मिडियम स्कूलका प्रधानाध्यापक विष्णु केसीका अनुसार विद्यार्थीहरू असार २२ गते दिउँसोेसम्म स्कूलमै रहेकोमा करिब ४ः३० बजेतिर बाहिर निस्केको बताउनुभयो ।

विद्यार्थी बेपत्ता भएलगत्तै इलाका प्रहरी कार्यालय, कोहलपुरलाई जानकारी गराएर खोजी कार्य सुरु गरिएको र नेपाल प्रहरीको अनुसन्धान ब्यूरोलाई पत्राचार गरिएको बताउनुभयो ।

विद्यार्थीहरूले पहिल्यैदेखि भाग्ने योजना बनाएको कुरा उनीहरूका साथीहरूबाट थाहा भएको प्रधानाध्यापक केसीको दावी छ । बालकहरूको अवस्था पत्ता लगाउन भारतस्थित विभिन्न निकायसँग आवश्यक समन्वय भइरहेको ईलका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्