एक्सक्लुसीभ

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

काठमाडौँ । गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ ।

आज यहाँ भएको बैठकमा गृह मन्त्रालयका तर्फबाट ओमप्रकाश अर्याल, गृह सचिव रामेश्वर दङ्गाल, मन्त्रालयअन्तर्गतका कानुन महाशाखाका सहसचिव र प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्मा, डा दीपक खड्कासहितको टोली सहभागी भएको थियो ।

बैठकमा विदेशबाट मतदानको सम्भावना, मतदाता नामावली, मतदान प्रक्रिया र यसलाई सम्भव बनाउन आवश्यक संयन्त्र, कानुन र अन्य आवश्यकताबारे छलफल गरिएको जनाइएको छ ।

विदेशमा रहेका नागरिकको मतदानका विषयमा विद्यमान कानुनी अवस्था, अन्य मुलुकको कार्यान्वयन अनुभव र चुनौतीहरूबारे प्रारम्भिक छलफलका लागि प्रतिष्ठानलाई आमन्त्रण गरिएको गृह मन्त्रालयले जनाएको छ ।

बैठकमा ‘आउट अफ कन्ट्री भोटिङ’ का विषयमा नीति प्रतिष्ठानले अघि बढाएको अनुसन्धानको कार्यप्रगति र प्रयोग हुन सक्ने विधिहरू प्रस्तुत गरिएको थियो ।

विदेशमा हुने मतदान प्रक्रिया, हुन सक्ने सुरक्षा चुनौती, आवश्यक जनशक्ति र यसका कार्यान्वयनका लागि निर्माण हुनुपर्ने राजनीतिक वातावरण आदि विषयबारे पनि चर्चा भएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्