मनोरंजन

बैतडीको पाटन विमानस्थल बन्यो टिकटकको भिडियो तथा तस्बिर शुटिंग स्थल

बैतडी । करोडौँ रुपियाँ खर्च गरेर पुनर्निर्माण गरिएको बैतडीको पाटन विमानस्थल जहाज उड्ने स्थलभन्दा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्बिर बनाउने थलोका रूपमा प्रयोग हुन थालेको छ । विमानस्थलमा नियमित उडान नहुँदा स्थानीय बासिन्दादेखि पाटन पुग्ने आगन्तुकसम्मले धावनमार्गमा टिकटक र भिडियो सामग्री बनाउने गरेका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्लालाई हवाईसेवामार्फत जोड्ने उद्देश्यले पुनर्निर्माण गरिएको विमानस्थलमा लामो समयदेखि उडान नहुँदा राज्यको करोडौँ रुपियाँ लगानी उपयोगविहीन बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । स्थानीय लवदेव जोशी भन्नुहुन्छ, “विमानस्थल सञ्चालनमा नआएपछि धावनमार्गमा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्बिर खिच्नेको भिड लाग्न थालेको छ ।”

२०५२ सालदेखि बन्द रहेको पाटन विमानस्थलको पुनर्निर्माण २०७३ सालतिर सुरु गरिएको थियो । करिब ११ करोड रुपियाँको लागतमा २० मिटर चौडाइ र ५८० मिटर लम्बाइको धावनमार्ग, विमानस्थल टावर तथा कार्यालयलगायतका संरचना निर्माण गर्ने गरी सम्झौता भएको थियो । सम्झौता अनुसार करिब चार वर्षमा पुनर्निर्माणको काम सम्पन्न पनि भयो ।

पुनर्निर्माण पूरा भएपछि विमानस्थल २०७७ असोजदेखि आंशिक रूपमा सञ्चालनमा आएको थियो । त्यसपछि करिब दुई वर्षसम्म निजी क्षेत्रको समिट एयरले धनगढीबाट बैतडीको पाटनसम्म साप्ताहिक उडान गर्दै आएको थियो तर पछिल्लो करिब पाँच वर्षदेखि नियमित उडान हुन नसक्दा विमानस्थल प्रयोगविहीन जस्तै बनेको स्थानीयको भनाइ छ ।

विमानस्थलका लागि करिब चार करोड ९७ लाख रुपियाँको लागतमा टर्मिनल भवनसमेत निर्माण भइसकेको छ । धावनमार्ग, टावर, कार्यालय तथा टर्मिनल भवनलगायतका पूर्वाधार तयार भए पनि नियमित हवाईसेवा सञ्चालन नहुँदा स्थानीयले यसको औचित्यमाथि प्रश्न उठाउन थालेका छन् ।

स्थानीय हरिश विष्ट भन्नुहुन्छ, “विमानस्थल सञ्चालनमा आएको भए बिरामी तथा घाइतेलाई आकस्मिक अवस्थामा धनगढी वा अन्यत्र लैजान सहज हुन्थ्यो । पूर्वाधार तयार भएर पनि जहाज नआउँदा स्थानीयले यसको प्रत्यक्ष लाभ लिन सकेका छैनन् ।”

स्थानीय खेमराज भट्ट आपत्कालीन अवस्थामा जिल्लाबाहिर जानसमेत हवाईसेवा उपलब्ध नहुँदा विमानस्थलमा गरिएको ठुलो लगानी खेर गइरहेको बताउनुहुन्छ । विमानस्थल पुनः नियमित रूपमा सञ्चालन गर्ने विषयमा सरकारले आवश्यक पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

पाटन विमानस्थल बैतडी मात्र नभई पहाडी क्षेत्रको हवाई पहुँच विस्तार गर्ने महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको थियो तर पूर्वाधार निर्माणमा ठुलो रकम खर्च भइसकेपछि पनि नियमित उडान हुन नसक्दा यसको दिगोपना र लगानीको उपयोगितामाथि प्रश्न उठेको छ ।

स्थानीयले विमानस्थल सञ्चालनका लागि नियमित उडानको व्यवस्था, विमान कम्पनीसँग समन्वय तथा आवश्यक प्राविधिक र व्यवस्थापकीय पक्षमा सरकारले ध्यान दिनुपर्ने माग गरेका छन् । विमानस्थललाई सामाजिक सञ्जालमा रमाउने स्थलका रूपमा सीमित हुन नदिएर स्थानीयको आपत्कालीन तथा नियमित हवाई पहुँचको माध्यम बनाउनुपर्ने उहाँहरूको भनाइ छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्