डायस्पोरा

बेलायतको स्थानिय निर्वाचनमा जीत रानाभाट र गौमाया गुरुङ्ग दम्पतिको ऐतिहाँसिक विजय

लन्डन । बेलायतमा शुक्रबार सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मुलका जीत रानाभाट र गौमाया गुरुङ्ग दम्पतिले काउन्सिलर पदमा ऐतिहाँसिक विजय हाँसिल गरेका छन् ।

लन्डनको रोयल बरो अफ ग्रीनवीच अन्तर्गत प्लमस्टेड एन्ड ग्लिन्डन वार्डबाट लेबर पार्टीका उम्मेदवार जीत रानाभाट १ हजार ६ सय १० मत प्राप्त गरी काउन्सिलरमा निर्वाचित भएका हुन् ।

रानाभाट यसअघि सन् २०२२ मा पहिलो पटक काउन्सिलरमा निर्वाचित भएका थिए र उनले सोही बरोको मेयर र उपमेयरको पद पनि सम्हालिसकेका छन्।

यसैगरी, उनकी पत्नी गौमाया गुरुङ रानाभाट पनि बरोको एबिउड वार्डबाट पहिलो पटक काउन्सिलरमा निर्वाचित भएकी छन्। रानाभाट दम्पती दुवै जना लेबर पार्टीका उम्मेदवार हुन्।

अल्डरसटको रश्मोर बरो अन्तर्गत म्यानर पार्क वार्डबाट कन्जरभेटिभ पार्टीका जीव नारायण बेल्वासे दोस्रो पटक काउन्सिलरमा निर्वाचित भएका छन्। बेल्वासे लामो समयदेखि बेलायतको नेपाली समुदायमा सक्रिय छन् र उनी ग्रेटर रश्मोर नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष पनि हुन्।

रश्मोरकै वेलिङटन वार्डबाट लेबर पार्टीका उम्मेदवार पूर्व गोर्खा उत्तरबहादुर गुरुङ पनि काउन्सिलरमा निर्वाचित भएका छन्।

यसैगरी, रेडिङ बरोको ब्याटल वार्डबाट लेबर पार्टीकी प्रतिक्षा गुरुङ पहिलोपटक काउन्सिलर निर्वाचित भएकी छन् ।

लन्डन बरो अफ बार्नेटको एड्जवेरबरी वार्डबाट कञ्जरभेटिभ पार्टीका लक्ष्य गुरुङ तेस्रोपटक काउन्सिलर निर्वाचित भएका छन् ।

यसपटकको निर्वाचनमा प्रतिस्पर्धा गरेका नेपाली मूलका केही उम्मेदवार भने पराजित भएका छन् । रश्मोरको वेलिङटन वार्डमा कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका डा विशाल गुरुङ दोस्रो प्रयासमा पनि निर्वाचित हुन सकेनन् । उनी बेलायतको नेपाली समुदायमा युवा सामाजिक अभियन्ताका रूपमा परिचित छन् ।

बेजिङस्टोकमा लेबर पार्टीबाट काउन्सिलर पदमा प्रतिस्पर्धा गरेका पूर्व डीएसपी शिवजी श्रेष्ठ पनि पराजित भएका छन् ।

त्यस्तै, लन्डनको ग्रीनवीच बरोमा जेरेमी कोर्बिन नेतृत्वको योर पार्टीको समर्थनमा उम्मेदवारी दिएका नरेन्द्र कंडेल र टम अधिकारी पनि पराजित भएका छन् । कंडेल प्लमस्टेड एन्ड ग्लिन्डन वार्डबाट उम्मेदवार थिए भने अधिकारी वुल्लीचबाट उम्मेदवार बनेका थिए ।

लन्डनको हन्सलो बरोको फेल्थाम नर्थमा कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका इन्द्रहांग लिम्बू पनि पराजित भएका छन् । स्वीन्डनमा कञ्जरभेटिभ पार्टीकै उम्मेदवार ज्ञानप्रसाद गुरुङ पनि पराजित भएका छन् ।

बेलायतको मुलधारको राजनीतिमा सहभागिता जनाउदै आएको नेपाली समुदायका उम्मेद्वारहरुले प्राप्त गरेको मत परिणाम यस पटकको स्थानिय निर्वाचनले प्रमुख राजनीतिक दलहरुले गोर्खा र नेपाली मुलका राजनीतिज्ञलाई आगामी निर्वाचनमा यथेष्ट स्थान दिने अपेक्षा गर्न सकिन्छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्