नेपाल

प्रभु ग्रुपका सञ्चालक भट्टचन ठगी प्रकरणमा पक्राउ

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा ठगीसम्बन्धी कसूरमा संलग्न भएको आरोपमा प्रभु ग्रुपका सञ्चालक तथा पूर्व सभासद् देवी प्रकाश भट्टचन पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भट्टचनलाई ललितपुरको गोदावरी नगरपालिका–३ टौकेलबाट पक्राउ गरिएको जनाएको छ ।

भट्टचनलाई ठाकुर प्रसाद मानन्धरको जाहेरीका आधारमा दायर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको ब्यूरोले जनाएको हो ।

ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार भट्टचन प्रभु मनि ट्रान्सफर प्रालि र प्रभु म्यानेजमेन्ट प्रालिका प्रमुख सञ्चालकका रूपमा कार्यरत रहेर नेपाल राष्ट्र बैंकबाट प्राप्त रेमिट्यान्स कारोबारको लाइसेन्सको दुरुपयोग गरेको आरोपमा छन् ।

भट्टचनले प्रभु म्यानेजमेन्ट प्रालिलाई सुपर एजेण्टको रूपमा नियुक्त गरी देशभरका सहकारी संस्थामार्फत विप्रेषण कारोबार गर्दै आएकोमा नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ को प्रावधानविपरीत कार्य गरेको पाइएको सीआईबीले जनाएको छ ।

विनियमावलीअनुसार कम्पनीले विदेशबाट प्राप्त रकम आफैं वा आफ्ना अधिकृत प्रतिनिधिमार्फत सम्बन्धित लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर भट्टचनको कम्पनीले सहकारी संस्थामार्फत रकम भुक्तानी गराए पनि ती सहकारी संस्थालाई सोधभर्ना नगरी रकम हिनामिना गरेको अनुसन्धानमा खुलेको ब्यूरोको भनाइ छ ।

यस प्रकरणमा देशभरका तीन दर्जनभन्दा बढी सहकारी संस्थाबाट उजुरी परेपछि भट्टचनविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि सीआईबीको टोलीले भट्टचनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो ।

भट्टचनमाथि ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरका आधारमा अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्