अर्थ

पुन: सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य पुन: बढ्न थालेको छ । प्रतितोला दुई लाख ७० हजार रुपियाँ पुगेर दुई लाख ५९ हजार छ सय रुपियाँसम्म झरेको सुनको मूल्य गत आइतबारदेखि पुनः बढ्न थालेको हो । अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्न थालको हो । त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत आइतबार प्रतितोला दुई लाख ६० हजार चार सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा चार हजार छ सय रुपियाँले बढेर दुई लाख ६५ हजार रुपियाँमा कारोबार भएको थियो । मङ्गलबार तोलामा तीन हजार एक सय रुपियाँले बढेर दुई लाख ६८ हजार एक सय रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

पछिल्ला तीन दिनमा सुनको मूल्य तोलामा सात हजार सात सय रुपियाँले बढेको छ । मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ४६५ अमेरिकी डलर पुगेको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले पर्ख र हेरको अवस्था रहेको जानकारी दिनुभयो । मूल्य बढेको स्थानीय बजारमा माग नहुँदा सुनको कारोबार ठप्प रहेको उहाँको भनाइ छ ।

यसैबिच सुनसँगै चाँदीको मूल्यसमेत बढेको छ । तीन दिनमा चाँदीको मूल्य तोलामा ३८० रुपियाँले बढेको महासङ्घले जनाएको छ । गत आइतबार तोलामा चार हजार पाँच सय रुपियाँमा करोबार भएको चाँदीको मूल्य सोमबार बढेर चार हजार ६८५ रुपियाँ पुगेको थियो । मङ्गलबार तोलामा १९५ रुपियाँले बढेर चार हजार ८८० रुपियाँ पुगेको महासङ्घले जनाएको छ । मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔँस ७८ डलर पुगेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्