इमिग्रेशन अपडेट

डिभी लोटरी विजेताको विवरण सार्वजनिक, ३९३३ नेपालीलाई पर्यो डिभी लोटरी

लस एन्जलस । अमेरिकी विदेश मन्त्रालयले डिभी २०२६ का विजेताहरुको विवरण सार्वजनिक गरेको छ । छनौट भएका ३९३३ जना नेपालीहरुले २०२६ का लागि भिसा प्रकृया अगाडि बढाउन सक्ने छन् ।

लोटरी प्रणालीमार्फत लगभग १२९,५१६ सम्भावित आवेदकहरू छनौट गरिएको र उनीहरु आप्रवासी भिसाको लागि आवेदन दिन योग्य हुनसक्ने भिसा बुलेटिनमा उल्लेख गरिएको छ ।

छनोट भएका केही व्यक्तिहरूले आफ्नो आवेदन पूरा नगर्ने वा भिसाको लागि अयोग्य ठहरिने सम्भावना हुने भएकोले उपलब्ध भिसाभन्दा ठूलो संख्यामा विजेताहरु छनौट गरिएको विदेश मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०२६ का विजेताहरुले अक्टोबर १, २०२५ देखि सेप्टेम्बर ३०, २०२६ सम्म भिसा पाइसक्नुपर्छ ।

उनीहरु अक्टोबर २, २०२४ देखि नोभेम्बर ७, २०२४ सम्म ३७ दिनको आवेदन अवधिमा डिभी भरेकाहरु हुन् । यो अवधिमा कुल २ करोड ८ लाख २२ हजार ६२४ योग्य आवेदनहरु प्राप्त भएको र दर्ता भएका आवेदकहरूलाई लोटरीबाट छनोट गरिएको जनाइएको छ ।

कुनै पनि देशको लागि अधिकतम सात प्रतिशत भिसा सुनिश्चित गर्न भिसाहरू छ भौगोलिक क्षेत्रहरूमा विभाजन गरिने र भिसा अन्तर्वार्ताको क्रममा प्रमुख आवेदकहरूले उच्च माध्यमिक शिक्षा वा सो सरह, वा विगत पाँच वर्ष भित्र कम्तिमा दुई वर्षको तालिम वा अनुभव आवश्यक पर्ने पेशामा दुई वर्षको कार्य अनुभवको प्रमाण प्रदान गर्नुपर्ने प्रष्ट पारिएको छ ।

कुल ५५ हजार भिसा नम्बरहरू प्रयोग गरिसकेपछि आर्थिक वर्ष २०२६ को लागि कार्यक्रम समाप्त हुने प्रष्ट पारिएको छ ।

डिभी २०२६ का लागि सबैभन्दा धेरै लोटरी पर्नेमा नेपाल एसियामा तेश्रो नम्बरमा रहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्