एक्सक्लुसीभ

कांग्रेस नेताहरू विशेष महाधिवेशन माग राख्दै हस्ताक्षर अभियानमा

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले विशेष महाधिवेशन माग राख्दै हस्ताक्षर अभियान प्रारम्भ गरेका छन् । कांग्रेस नेताहरूले हस्ताक्षर अभियान प्रारम्भ गर्दै इतिहासको संवेदनशील घडीमा पार्टीलाई वर्तमान दुरावस्थाबाट निकाल्न विशेष महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका हुन् । 

कांग्रेसका १०९ जना नेताले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीलाई समयसापेक्ष, लोकप्रिय, प्रभावकारी र सुदृढ तुल्याउन आवश्यक रहेको जिम्मेवारीबोध गरी पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन प्रक्रिया थाल्न आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, “पार्टीलाई यथास्थितिमा राख्ने कि अग्रगमनतर्फ लैजाने आजको मूल प्रश्न यही हो । विषम परिस्थिति र सङ्कटबाट नेपाली कांग्रेसलाई मुक्त गर्न वर्तमान केन्द्रीय समिति मात्र होइन, हाम्रो पनि उत्तिकै दायित्व हो ।”

विज्ञप्तिमा पार्टीको अवस्था र नेतृत्वमाथि उठेका विभिन्न प्रश्न निरूपण गर्दै आगामी बाटो तय गर्न विशेष महाधिवेशन आवश्यकता महसुस गरिएको प्रस्ट पारिएको छ । विज्ञप्तिमा भनिएको छ, “वर्तमान परिस्थितिको गम्भीरता बोध गरी केन्द्रीय समितिको क्षेत्राधिकारसमेत रहेको विशेष महाधिवेशन बोलाउने दायित्वलाई केन्द्रीय समितिले मनन गर्ने सम्भावना क्षीण बन्दै गएकाले हामी महाधिवेशन प्रतिनिधिमा रहेको वैधानिक अधिकार उपयोग गर्दै तयारीमा लाग्ने सङ्कल्प लिएका छौँ ।”

विज्ञप्तिमार्फत नेताहरूले भदौ २३ र २४ गते जेनजी पुस्ताको आह्वानमा भएको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै घटनाको छानबिन गरी दोषीलाई कारबाही माग पनि गरिएको छ ।

विज्ञप्तिमा नेताहरू कोसी प्रदेशमा सभापतिमा पराजित गुरुराज घिमिरे, युवा नेता देवराज चालिसे, तारानाथ दाहाल, पूर्वसांसद रीता शाही, बिमला नेपाली, रुद्र कन्दङ्वालगायतले हस्ताक्षर गर्नुभएको छ ।

यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रस्ताव गर्नुभएको थियो । तर बैठकमा उहाँहरू अल्पमतमा पर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्