एक्सक्लुसीभ

यलुङ–री हिमालमा देखिएका ५ शव ‘ना’ गाउँ ल्याइयो

आइतबार ‘ना’ गाउँमा ल्याइएको शव विदेशी नागरिकहरू फ्रान्सका मेनफेडी क्रिस्टिना एण्ड्रे (पासपोर्ट नम्बर 9DK92514), इटलिका पाउलो कोको (पासपोर्ट नम्बर 9DK92514) र मार्कोस किरचिलर (पासपोर्ट नम्बर YB3843711), जर्मनका ज्याकोब इसरिवर (पासपोर्ट नम्बर CHIHX6HRZ) तथा क्यानेडियन मार्को डि मारसेलो (पासपोर्ट नम्बर CHIHX6HRZ) को रहेको ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाले बताउनुभयो ।

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–री हिमालमा देखिएको ५ जनाको शव आइतबार बिहान सङ्कलन गरेर रोल्वालिङ क्षेत्रकै ‘ना’ गाउँमा ल्याइएको ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाले बताउनुभयो । ती शवहरू गत बर्ष यलुङ–री हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर बेपत्ता भएकाहरूको रहेको उहाँले जनाकारी दिनुभयो । 

गत वर्षको कार्तिक ११ गते रोल्वालिङ क्षेत्रमा रहेको ५,६३० मिटरको यलुङ– री हिमाल आरोहणको लागि गएका उनीहरू कार्तिक १७ गते हिमपहिरोमा परेका थिए । आरोहणको लागि विभिन्न टोलीका १५ जना यलुङ–री हिमाल गएकामा ८ जनाको भने त्यति बेलै सकुशल उद्धार गरिएको थियो । हिमपहिरोमा परेका ७ जना मध्ये दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर–९ का पदम तामाङ र सोलुखुम्बु जिल्ला बुक्साका मेरे कार्कीको शव पनि त्यति बेलै भेटिएको थियो ।

आइतबार ‘ना’ गाउँमा ल्याइएको शव विदेशी नागरिकहरू फ्रान्सका मेनफेडी क्रिस्टिना एण्ड्रे (पासपोर्ट नम्बर 9DK92514), इटलिका पाउलो कोको (पासपोर्ट नम्बर 9DK92514) र मार्कोस किरचिलर (पासपोर्ट नम्बर YB3843711), जर्मनका ज्याकोब इसरिवर (पासपोर्ट नम्बर CHIHX6HRZ) तथा क्यानेडियन मार्को डि मारसेलो (पासपोर्ट नम्बर CHIHX6HRZ) को रहेको ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाले बताउनुभयो ।

यलुङ– री आधार शिविरमा देखिएका शव सङ्कलनको लागि शुक्रवारबाट हेलिकप्टर पठाउने प्रयास गरिएको भएपनि खराब मौसमका कारण आइतबार बिहान मात्र शवहरू सङ्कलन गरेर ‘ना’ गाउँमा ल्याउन सकिएको फुर्वा तेन्जीले बताउनुभयो ।

यलुङ– री हिमालमा देखिएका शव सङ्कलनको लागि ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाको नेतृत्वमा हेली एभरेष्टको पाइलट द्वय पासतेन्जी शेर्पा र प्रिया अधिकारी, इन्जिनियर कमल श्रेष्ठ, स्थानीय बाबुराम ठकुरी तथा वरिष्ठ हवल्दार जयश्वर प्रसाद ठकुरी आधार शिविरमा पुगेको थियो ।

शनिवार रोल्वालिङ क्षेत्रमा पर्ने ‘क्याल्चे’मा बस्नुभएका उहाँहरू आइतबार बिहान ६ बजेदेखि शव सङ्कलनमा सहभागी हुनुभएको थियो । निक्कै जोखिमपूर्ण ढङ्गले आइतबार बिहान १० बजेसम्म ७÷८ पटकको प्रयत्नबाट शवहरू सङ्कलन गरेर ‘ना’ गाउँमा ल्याइएको फुर्वा तेन्जीले जानकारी दिनुभयो । शवहरू सङ्कलनको लागि वडाले पनि आवश्यक सहयोग र समन्वय गरिरहेको वडा नम्बर– ९ का वडा अध्यक्ष ङिमा गेली शेर्पाले बताउनुभयो ।

सङ्कलन गरिएका शवहरू आइतबार काठमाडौँ लान खराब मौसमका कारण सम्भव नभएकाले सोमवार बिहान लगिने फुर्वा तेन्जीको भनाई छ । ती शवहरू काठमाडौँ पुर्‍याएपछि सम्बन्धित देशको दूतावास र आफन्तको जिम्मा लगाइने उहाँले बताउनुभयो । मृतकका आफन्तहरू शव बुझ्न काठमाडौँ आइसकेको पनि फुर्वा तेन्जीले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्