बेनी–दरवाङको फापरखेत वैकल्पिक सडक सञ्चालनमा
बेनी । सुख्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीनवटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकको फापरखेत खण्डको बैकल्पिक सडक सञ्चालनमा आएको छ ।
बैकल्पिक सडक सञ्चालनमा आएसँगै दसैँ मनाउन गाउँ हिडेका सर्वसाधारणहरुलाई सहज भएको छ । बेनी–नगरपालिका –४ र मंगला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराहन्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मंगला गाउँपालिकाले पखेर–बरंजा–ज्यामिरे–सातबिसे–बाबियाचौर वैकल्पिक सडक सञ्चालन गरेको हो ।
मंगला गाउँपालिका –३ का वडा सदस्य हरि गिरीले बर्खा याममा अवरुद्ध बनेको बरंजा–सातबिसे–बाबियाचौर खण्डको सडक तत्काल मर्मत गरेर आइतबार दिउँसोदेखि मिनिबस, जिप, मोटरसाइकल, स्कुटर, ट्याक्सी र ट्याक्टर चलाउन मिल्ने बनाइको जानकारी दिनुभयो ।
“निरन्तर खसिरहेको पहिरो नरोकिदासम्म मर्मत गर्न नसकिने भएकाले दसैको समयमा जन्मथलो जाने नागरिकलाई सहजताका लागि गाउँपालिकाले वैकल्पिक सडक सञ्चालन गरेको हो” उहाँले भन्नुभयो, “पखेर–सिमलचौर झोलुङ्गे पुल तरेर पैदलयात्रा गर्न सकिन्छ ।”
मोटरसाइकल र स्कुटरका लागि पखेरदेखि बान्द्रे हुदै सिम जोड्ने झोलुङ्गे पुल तरेर सिम पुग्न सकिने विकल्प रहेको छ । बेनी–दरवाङ म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ । फापरखेतमा पहिरो निरन्तर झरेकाले पन्छाउने काम सुरु गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।
पहिरो र वैकल्पिक सडकको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गैरेले स्थलगत निरीक्षण गरी यातायात सञ्चालन र सडक मर्मतका लागि सहजीकरण गर्नुभएको थियो ।
विसं २०६० अघि मार्ग खुलेको सडक निर्माण भएदेखिकै हरेक बर्खायाममा वर्षा हुनेबित्तिकै पहिरो खस्ने र २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा सिधा यातायात सेवा बन्द हुने गरेको छ ।
फापरखेतको पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र २ सिमलचौर जोड्ने म्याग्दी नदीमाथि मोटरेबल पुल बनाउन चालु आर्थिक वर्ष २०८३–८४ मा दुई करोड रुपियाँ बजेट बिनियोजन गरेको गण्डकी प्रदेश सरकारले प्रक्रिया थालेकोे छ ।
सवारी साधनको अत्यधिक चाप हुने बेनी–दरवाङ सडकमा बेलिब्रिज बनाउँदा जोखिम हुने प्राबिधिक प्रतिवेदनको आधारमा प्रदेश सरकारले सात करोड ५० लाख रुपियाँ बजेटको स्रोत सुनिश्चित गरेपनि ठेक्का आह्वान नभएको र ‘डिजाइन एण्ड बिल्ड’ बिधिबाट पक्की मोटरेबल पुल बनाउने तयारी गरेको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताउनुभयो ।