ट्रम्प प्रशासनद्वारा शरणार्थीको हैसियत खारेजीको निर्णयविरुद्ध दाबी प्रस्तुत गर्ने म्याद कटौती
गिसेला सालोमन, मियामी (एपी)। ट्रम्प प्रशासनले शरणार्थीहरूको ‘शरणार्थी दर्जा’ खारेज गर्ने निर्णयविरुद्ध उजुरी वा दाबी प्रस्तुत गर्न पाइने समयसीमा कटौती गर्दैछ। आलोचकहरूका अनुसार, यो कदमले आफ्ना देशमा दमन र युद्धबाट भागेर आएका हजारौं मानिसहरूलाई देश निकालाको जोखिममा धकेल्न सक्छ।
बुधबारदेखि लागू हुने यस नयाँ नीतिले शरणार्थीहरूलाई आफ्नो दर्जा खारेज गरिएको निर्णयलाई चुनौती दिन पाइने समयसीमा ३० दिनबाट घटाएर १० दिनमा सीमित गरेको छ। यो कदम दशकौंदेखि शरणार्थीहरूका लागि एउटा मार्गका रूपमा रहँदै आएको कार्यक्रमलाई सीमित र परिमार्जन गर्ने ट्रम्प प्रशासनको बृहत्तर प्रयासको एक हिस्सा हो।
उक्त दस्तावेजका अनुसार, यस नयाँ नीतिको उद्देश्य शरणार्थीका रूपमा भित्र्याइएका तर वास्तवमा शरणार्थी दर्जाका लागि योग्य नभएका व्यक्तिहरूसँग जोडिएका “सम्भावित जोखिमहरू न्यूनीकरण गर्नु” हो।
यस नीतिमा कति मानिसहरू प्रभावित हुन सक्छन् भन्ने यकिन तथ्याङ्क उल्लेख छैन, तर यसले विशेष गरी राष्ट्रपति जो बाइडेनको प्रशासनकालमा भित्र्याइएका शरणार्थीहरूको सन्दर्भ उठाएको छ। उक्त अवधिमा शरणार्थी कार्यक्रमको “विश्वसनीयतामा चिन्ताजनक ह्रास” आएको दाबी यस नीतिमा गरिएको छ; यद्यपि, शरणार्थी अधिकारकर्मीहरूले भने यो दाबीलाई अस्वीकार गर्छन्।
ट्रम्प प्रशासनले बाइडेन प्रशासनको पालामा भित्र्याइएका र ‘ग्रीन कार्ड’ (स्थायी बसोबास अनुमति) का लागि आवेदन दिएर प्रक्रियामा रहेका कम्तीमा १ लाख ८५ हजार शरणार्थीहरूको मामिलाको समीक्षा गरिरहेको छ।
सन् १९८० मा कंग्रेसले भारी समर्थनका साथ ‘शरणार्थी ऐन’ पारित गरेयता अमेरिकामा शरणार्थीहरूलाई स्वागत गर्ने विषय दुवै प्रमुख राजनीतिक दलहरूको साझा सहमतिको विषय रहँदै आएको छ। उक्त कानुनले आप्रवासन प्रणालीभित्र शरणार्थीसम्बन्धी आवेदनहरूको जाँचबुझ प्रक्रियालाई अत्यन्त कडा बनाएको थियो।
अधिकारकर्मी तथा शरणार्थी पुनर्स्थापनामा संलग्न समूहहरूले यस नयाँ नीतिको निन्दा गरेका छन्।
कतिपयको भनाइ छ कि नयाँ नीतिअन्तर्गत शरणार्थीहरूले आफ्नो दर्जाको पक्षमा प्रतिरक्षा गर्न पर्याप्त समय पाउने छैनन्।
“यी परिवारहरूले आफूबाट अपेक्षा गरिएका सबै कामहरू पूरा गरे,” ‘ग्लोबल रिफ्युज’की अध्यक्ष कृष ओ’मारा भिग्नाराजाहले भनिन्। “उनीहरूले अन्तर्वार्ता र पृष्ठभूमि जाँचको प्रक्रिया पूरा गरे तथा विदेशमा वर्षौंसम्म पर्खिए; सरकारी अधिकारीहरूले उनीहरूको आवेदन स्वीकृत गरेपछि मात्र उनीहरूले अमेरिकी भूमिमा पाइला टेके।”
उनले भनिन्, ‘अहिले ‘होमल्याण्ड सेक्युरिटी विभाग’ ती निर्णयहरूको समीक्षा १० दिनको समयसीमाभित्र गर्न चाहन्छ। यो सूचना अवधि वकिल खोज्न, कागजातहरू अनुवाद गर्न वा आफू भाग्न बाध्य भएको देशबाट आवश्यक अभिलेखहरू झिकाउनका लागि पटक्कै पर्याप्त छैन।”
शरणार्थी सहायतासम्बन्धी प्रमुख संस्था ‘एचआईएएस’ले चेतावनी दिएको छ कि हिंसा, उत्पीडन र विस्थापनका कारण भागेका शरणार्थीहरूलाई उनीहरूमाथि हानि, उत्पीडन र यातनाको जोखिम हुन सक्ने देशहरूमा फिर्ता पठाइन सक्ने खतरा छ।
“उनीहरू त्यो आधारभूत सिद्धान्तलाई नै उल्ट्याउने प्रयास गर्दैछन् जसअनुसार शरणार्थी पुनर्स्थापना भनेको स्थायी सुरक्षा हो,” एचआईएएसकी उपाध्यक्ष नाओमी स्टाइनबर्गले भनिन्।
‘चर्च वर्ल्ड सर्भिस ले भन्यो कि शरणार्थीहरूको हैसियत खारेज हुनुअघि उनीहरूलाई जवाफ दिने वा पुनरावेदन गर्ने “कुनै अर्थपूर्ण अवसर” प्राप्त हुनेछैन।
“यो नीति हाम्रा समुदायका ती सदस्यहरूलाई उखेलेर फाल्न र निष्कासन गर्नका लागि बनाइएको हो, जो उत्पीडनबाट भागेर आएका थिए र जसलाई सुरक्षाको आश्वासन दिइएको थियो,” सीडब्लूएसका नीति निर्देशक डानिलो जाकले भने।
‘होमल्याण्ड सेक्युरिटी’ ले प्रतिक्रियाका लागि गरिएको अनुरोधको तत्काल जवाफ दिएन। विदेश मन्त्रालय (State Department) ले यससम्बन्धी प्रश्नहरू होमल्याण्ड सेक्युरिटी विभाग (डिएचएस) तर्फ निर्देशित गर्यो।
शरणार्थी कार्यक्रममा परिवर्तन
ट्रम्प प्रशासनले शरणार्थी कार्यक्रममा व्यापक परिवर्तन गरेको छ र यसलाई गोरा दक्षिण अफ्रिकीहरूलाई देशमा पुनर्स्थापित गर्ने संयन्त्रमा परिणत गरेको छ।
सेप्टेम्बरमा, सरकारले सन् २०२७ मा देशमा भित्र्याइने शरणार्थीहरूको कुल संख्या १७,५०० मा सीमित गर्ने योजना घोषणा गर्यो, जसमा अधिकांश गोरा दक्षिण अफ्रिकीहरू छन्।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले हरेक वर्ष स्वीकृत गरिने शरणार्थीहरूको संख्यामा भारी कटौती गरेका थिए। बाइडेन प्रशासनले यसलाई पुनः बढाउँदै आफ्नो कार्यकालको अन्तिम वर्षमा १,२५,००० शरणार्थीहरूलाई भित्र्याउने लक्ष्य निर्धारण गरेको थियो।
दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएलगत्तै ट्रम्पले शरणार्थी कार्यक्रम स्थगित गरे, जसका कारण अमेरिका आउने तयारीमा रहेका विश्वभरका मानिसहरू अलपत्र परे। पछि प्रशासनले उक्त कार्यक्रम पुनः सुरु गर्यो तर यसलाई मुख्यतया गोरा दक्षिण अफ्रिकीहरूमा मात्र सीमित राख्यो।
शरणार्थी र आश्रय खोज्ने व्यक्ति बीचको भिन्नता
शरणार्थी भन्नाले ती व्यक्तिहरूलाई बुझिन्छ जसले अमेरिका बाहिर रहँदा—प्रायः शरणार्थी शिविर वा ट्रान्जिट मुलुकमा बस्दा—आफ्नो स्थितिका लागि आवेदन दिएका हुन्छन्। उनीहरूको विदेशमै जाँचबुझ र प्रक्रिया पूरा गरिन्छ र अमेरिका आउनुअघि नै शरणार्थीको दर्जा स्वीकृत तथा प्रदान गरिन्छ। अमेरिका आइसकेपछि उनीहरूले ‘ग्रीन कार्ड’ का लागि अनुरोध गर्न सक्छन्।
शरणार्थी र आश्रय खोज्ने व्यक्ति (asylee) बीच भिन्नता हुन्छ, यद्यपि दुवैथरी मानिसहरू आफ्नै देशमा हुने उत्पीडनबाट भागेर आएका हुन्छन्।
आश्रय खोज्ने व्यक्तिले अमेरिकाको सीमामा आइपुगेपछि वा अमेरिकी भूभागभित्र प्रवेश गरिसकेपछि आश्रयका लागि अनुरोध गर्छन्। यो प्रक्रिया पूरा हुन धेरै वर्ष लाग्न सक्छ। आश्रय प्राप्त व्यक्ति भन्नाले अमेरिकामा बसोबास गरिरहँदा आश्रयको अधिकार पाइसकेको व्यक्तिलाई बुझिन्छ।