मलेसियाले श्रमिकको पारिश्रमिक बढाउने, अब न्यूनतम ७५ हजार पाउने
काठमाडौँ । मलेसिया सरकारले मलेसियामा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक मासिक तीन सय रिङ्गेट वृद्धि गरेर दुई हजार रिङ्गेट पुर्याउने घोषणा गरेको छ । मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले शुक्रबार संसद्को तल्लो सदन देवान रक्यातमा सन् २०२७ लागि प्रस्तुत बजेटमार्फत श्रमिकको पारिश्रमिक वृद्धि गरेको घोषणा गर्नुभएको हो ।
हाल मलेसियामा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक मासिक एक हजार सात सय रिङ्गेट (६३ हजार रुपियाँ) रहेकोमा बढाएर दुई हजार रिङ्गेट (७५ हजार रुपियाँ) पुर्याइएकाले यसको लाभ त्यहाँ कार्यरत सबै श्रमिकले लिन पाउने छन् । नयाँ तलबमान सन् २०२७ जुनदेखि लागु हुने छ ।
मलेसियाले बढाएको पारिश्रमिकको लाभ त्यहाँ कार्यरत साढे चार लाख नेपाली श्रमिकसहित मलेसियामा कार्यरत ४० लाखभन्दा बढी श्रमिकले लिन सक्ने जनाइएको छ । मलेसिया सरकारले अदक्ष श्रमिकको पारिश्रमिक वृद्धिसँगै अर्धदक्ष र दक्ष श्रमिकको पनि पारिश्रमिक बढाउने घोषणा गरेको छ ।
मलेसियाले सरकारसँग सम्बद्ध लगानी कम्पनी (जिएलआइसी) र सरकारी स्वामित्वका कम्पनी (जिएलसी) ले पनि श्रमिकको तलब मासिक तीन हजार एक सय रिङ्गेटबाट बढाएर तीन हजार चार सय रिङ्गेट पुर्याउने घोषणा गरेका छन् । यसबाट करिब दुई लाख ३० हजार श्रमिक लाभान्वित हुने जनाइएको छ । यस्तै मलेसिया सरकारले मलेसियामा अवैध रूपमा काम गरिरहेका आप्रवासी श्रमिकको रोजगारी नियन्त्रण गर्न करसम्बन्धी व्यवस्थामा कडाइ गर्ने पनि घोषणा गरेको छ ।
मलेसियामा सन् २०१३ देखि सन् २०२५ सम्म श्रमिकको ज्याला करिब ८९ प्रतिशतले वृद्धि भएको छ । मलेसियामा न्यूनतम ज्यालाको नीति सन् २०१३ मा लागु भएयता पारिश्रमिकमा सो परिमाणमा वृद्धि भएको हो । सन् २०१३ मा मलेसियामा कार्यरत श्रमिकको मासिक न्यूनतम ज्याला नौ सय रिङ्गेट थियो । यो रकम बारम्बार बढ्दै अगस्त २०२५ सम्म आइपुग्दा एक हजार सात सय रिङ्गेट पुगेको थियो ।