नेपाल

आज देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर आज मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रमा वर्षासँगै हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।

विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा धेरै स्थानमा तथा बागमती र गण्डकीका तराई क्षेत्रमा केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनसक्नेछ ।

राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम विज्ञानअनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा भएमा त्यसलाई भारी वर्षा मानिन्छ । १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा भनिन्छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्