नेपाल

पोखराको सेती नदी थुनिँदा झरना बन्यो, स्थानीय त्रसित

“पोखरा जति प्राकृतिक रूपमा सुन्दर छ, त्यति नै भू–जोखिमको दृष्टिले संवेदनशील पनि छ । केही क्षेत्रमा वर्षापछि माटो घुल्ने, धर्ती फाट्ने र भ्वाङ पर्ने समस्या देखिने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउनुपर्छ,”

पोखरा I पोखरा महानगरपालिका–१५ र १७ को सीमामा पर्ने रातोपहिरा क्षेत्रमा करिब दुई महिनाअघि गएको सुख्खा पहिरोका कारण सेती नदीको बहाव आंशिक रूपमा अवरुद्ध भएपछि त्यहाँ प्राकृतिक झरनाजस्तो दृश्य देखिएको छ । 

नदी थुनिँदा ठूलो जलाशयसमेत बनेको भन्दै स्थानीयले सम्भावित विपद्को जोखिमप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायसँग तत्काल स्थलगत अध्ययन, नियमित अनुगमन र आवश्यक सुरक्षा तयारी गर्न आग्रह गरेका छन् ।

सुख्खा पहिरोले नदीको बहाव रोकिएपछि करिब ५० मिटर माथिसम्म पानीको बहाब पुगेर पानी झर्नाको रुपमा खसेको स्थानीय भगवान पोखरेलले बताउनुभयो । सेती नदीमा पानीको बहाब बढ्नु, नदीको पानी थुनिनुले ताल बनेको जलाशय एकै पटक फुटे तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने भन्दै उहाँले समयमै जोखिम मूल्याङ्कन र आवश्यक व्यवस्थापन गर्नुपर्ने माग गर्नुभयो ।

स्थानीय तथा पत्रकार हरि बास्तोलाले पहिरो थुनिएको क्षेत्रको दायाँ–बायाँ भाग अझै बिस्तारै भासिने र थप पहिरो खस्ने क्रम जारी रहेको बताउनुभयो । थुनिएको भाग अचानक भत्किने वा थप पहिरो खस्ने जोखिम बढाएको उहाँले जनाउनुभयो ।

स्थानीयवासीका अनुसार नदी थुनिएपछि बनेको जलाशयका कारण आसपासको भू–भाग पनि कमजोर बन्दै गएकोले त्रसित हुनु भएको छ । सेती नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न आग्रह गरिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले रातोपहिरा क्षेत्रमा सेती नदीको केही भाग थुनिँदा पानीको सतह बढेको विषयमा जिल्ला प्रशासनको ध्यानाकर्षण भएको बताउनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत सुरक्षा निकायसँग छलफल गरी आवश्यक व्यवस्थापनका लागि छिट्टै पहल गरिने उहाँले जनाउनुभयो । शनिबार बिहान सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले घटनास्थल पुगेर प्रारम्भिक अवलोकन समेत गरेको छ । निरन्तर वर्षाका कारण विस्तृत अध्ययनपछि आवश्यक निर्णय लिइने बताउँदै प्रजिअ गुरुङले स्थानीयलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

पृथ्वीनारायण क्याम्पस, पोखराका भूगोल विभाग प्रमुख डा. रामजीप्रसाद पोखरेलले सेती नदीमा पानी थुनिएर जलाशय बन्नु नजिकका बस्तीका लागि गम्भीर जोखिमको सङ्केत भएको बताउनुभयो । तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै आवश्यक परे जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने तयारीसमेत गर्नुपर्ने उहाँको सुझाव छ ।

धर्तीफाँट क्षेत्रमा पनि पानीको सतह बढे त्यहाँको माटो पानीमा सजिलै घुल्ने प्रकृतिको भएकाले थप जोखिम उत्पन्न हुन सक्ने भूगोलविद् पोखरेलले बताउनु भयो । “पोखरा जति प्राकृतिक रूपमा सुन्दर छ, त्यति नै भू–जोखिमको दृष्टिले संवेदनशील पनि छ । केही क्षेत्रमा वर्षापछि माटो घुल्ने, धर्ती फाट्ने र भ्वाङ पर्ने समस्या देखिने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउनुपर्छ,” डा. पोखरेलले भन्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्