मेक्सिको सरकारद्वारा आप्रवासीहरूको मृत्युबारे अनुसन्धान गर्न अमेरिकी महान्यायाधिवक्तालाई आग्रह
ट्रम्पको आप्रवासनसम्बन्धी कडा कारबाहीको प्रतिक्रियामा मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबमको कदम अझ सशक्त बनेको संकेत गर्छन्। शिनबमले यस वर्षको सुरुमा अमेरिकाभर रहेका मेक्सिकोका कूटनीतिक नियोगहरूलाई आइसको हिरासतमा रहेका व्यक्तिहरूको अवस्थाबारे नियमित रूपमा जानकारी लिन निर्देशन दिएकी थिइन् भने उनको सरकारले टर्कसमक्ष उजुरीसमेत दर्ता गराएको थियो।
मेक्सिको सिटी (एपी)। मेक्सिको सरकारले मंगलबार जनाएअनुसार, आप्रवासन तथा भन्सार प्रवर्तन (आइस) को हिरासतमा वा छापा मार्ने क्रममा ज्यान गुमाएका आप्रवासीहरूको घटनामा आपराधिक अनुसन्धान गर्न मेक्सिकोले अमेरिकी राज्यका महान्यायाधिवक्ताहरूसँग औपचारिक रूपमा अनुरोध गरेको छ।
ह्युस्टनमा आइस एजेन्टको गोलीबाट मारिएका मेक्सिकन आप्रवासी लोरेन्जो साल्गाडो अराउजोको मृत्युपछि यो अनुरोध गरिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता, आप्रवासनसम्बन्धी कारबाहीका क्रममा १७ जना मेक्सिकन आप्रवासीहरूको मृत्यु भइसकेको छ; जसमध्ये १४ जनाको आइसको हिरासतमा र तीन जनाको एजेन्सीको कारबाहीका क्रममा मृत्यु भएको हो।
मेक्सिकोको विदेश मन्त्रालयले यसअघि नै यस्तो अनुरोध गर्ने बताएको थियो र मंगलबार त्यसलाई औपचारिक रूप दिइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस्तै प्रकारको अनुरोध अमेरिकी न्याय विभागलाई पनि पठाइनेछ।
यी अनुरोधहरूमाथि कारबाही गर्न संयुक्त राज्य अमेरिका कानुनी रूपमा बाध्य छैन।
यसका साथै, मेक्सिकन सरकारले मेक्सिकन आप्रवासीहरूको मृत्यु भएका अमेरिकी हिरासत केन्द्रहरूलाई पत्र पठाउन सुरु गरेको छ। ती पत्रहरूमा “तत्काल त्यस्ता कार्य वा लापरबाहीहरू रोक्न” माग गरिएको छ जसका कारण मृत्यु हुने गरेको छ; उदाहरणका लागि, छिटो र तत्काल चिकित्सा सेवामा पहुँच नदिनु तथा चिकित्सा र हिरासतसम्बन्धी मापदण्डहरूसँग मेल नखाने नीतिहरू लागू गर्नु।
पत्र प्राप्त गर्ने पहिलो केन्द्र क्यालिफोर्नियास्थित ‘अडेलान्टो’ थियो, जहाँ चार जना मेक्सिकन आप्रवासीहरूको मृत्यु भएको थियो।
मन्त्रालयका अनुसार, मानव अधिकार उल्लङ्घन रोक्नका लागि हिरासत केन्द्रहरू सञ्चालन गर्ने कम्पनीहरू विरुद्ध “भविष्यमा देवानी मुद्धा दायर गर्ने” दिशामा यी पत्रहरू पहिलो कदम हुन्।
गत हप्ता, मेक्सिकोका विदेश मन्त्री रोबर्टो भेलास्कोले आइसको हिरासत वा प्रवर्तन कारबाहीका क्रममा मारिएका मेक्सिकन नागरिकहरूको घटनामा आपराधिक अनुसन्धानको माग गर्न आफ्नो देशले सिधै अमेरिकी अधिकारीहरूसँग कुरा गर्ने बताएका थिए।
३५ वर्षदेखि अमेरिकामा बस्दै आएका र कुनै आपराधिक रेकर्ड नभएका साल्गाडो अराउजोलाई गत मंगलबार ह्युस्टनमा निर्माण कार्यस्थलतर्फ आफ्ना कामदारहरूलाई गाडीमा लैजाँदै गर्दा गोली हानिएको थियो। उनको मृत्युले ह्युस्टनमा विरोध प्रदर्शन निम्त्यायो भने डेमोक्र्याटहरू र अराउजोको परिवारले स्वतन्त्र अनुसन्धानको माग गरे।
इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट, (आइस) को निगरानी गर्ने निकाय ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले ५२ वर्षीय अराउजोले आइस को गाडीलाई ठक्कर दिएको र आत्मरक्षाका लागि संघीय एजेन्टले गोली चलाएको जनाएको छ।
भेलास्कोले संयुक्त राष्ट्रसंघका मानव अधिकारसम्बन्धी उच्चायुक्त भोल्कर टर्कलाई पत्र लेखी अमेरिकी अधिकारीहरूलाई आइसको हिरासतमा रहेका मेक्सिकन आप्रवासीहरूको मृत्युबारे जानकारी संकलन गर्न र “यी घटनाहरू अन्तर्राष्ट्रिय मानव अधिकार दायित्वहरूसँग कति मेल खान्छन्” भन्नेबारे विश्लेषण गर्न आग्रह गरे।
परराष्ट्रमन्त्रीले टर्कलाई मानव अधिकार प्रवर्द्धन गर्ने संयुक्त राष्ट्रसंघको अन्तर-सरकारी निकाय ‘मानव अधिकार परिषद्’ को राय लिन र ती घटनाहरूबारे सुझावहरू उपलब्ध गराउन पनि अनुरोध गरे।
यी घटनाक्रमहरूले ट्रम्पको आप्रवासनसम्बन्धी कडा कारबाहीको प्रतिक्रियामा मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबमको कदम अझ सशक्त बनेको संकेत गर्छन्। शिनबमले यस वर्षको सुरुमा अमेरिकाभर रहेका मेक्सिकोका कूटनीतिक नियोगहरूलाई आइसको हिरासतमा रहेका व्यक्तिहरूको अवस्थाबारे नियमित रूपमा जानकारी लिन निर्देशन दिएकी थिइन् भने उनको सरकारले टर्कसमक्ष उजुरीसमेत दर्ता गराएको थियो।