राष्ट्रिय सभाबाट छ वटा विधेयक पारित
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले सम्पत्ति शुद्धीकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक २०८३ सहित ६ वटा विधेयक पारित गरेको छ ।
राष्ट्रियसभा बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक २०८३, सहकारी पहिलो संशोधन विधेयक २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३, आर्थिक विधेयक २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ माथिको छलफलपछि सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा सभाध्यक्ष नारायण दाहालले आज राष्ट्रिय सभाले चार वटा अध्यादेश प्रतिस्थापन विधेयक संसदीय समितिमा छलफल गरि समितिको प्रतिवेदनसहित र दुई वटा आश्रित विधेयक सभामै छलफल गरि एकैदिन पारित गरि प्रतिनिधिसभामा पठाउन सफल भएको बताउनुभयो ।
यस्तै प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्राप्त चार विधेयक टेबुल भई स्वीकृत भएका छन् ।
बैठकमा सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक २०८३, सहकारी पहिलो संशोधन विधेयक, २०८३ र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ स्वीकृत भएका हुन् ।