नेपाल

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर। प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ ।

नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । भक्तपुरवासीले धिमेबाजा बजाउँदै घरघरबाट मध्यरातिदेखि नै ब्रह्मायणीमा मेला भर्न भीड लागेको थियो ।

व्रत बसेकाहरू घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर ब्रह्मायणी मन्दिर जाने र पूजा गर्ने प्रचलन छ । यहाँका बासिन्दाले शरीरमा बत्ति बालेर र शरीर नापेर ब्रह्मायणीसम्मको यात्राा पुरा गरेका छन् । यो परम्पराले मनोकाङ्क्षा पूरा हुने र धर्म प्राप्त हुने जनविश्वास छ ।

मन्दिरमा आज नवदुर्गा प्रकट हुने विश्वासका साथ दिनभरी नै भव्य मेला लाग्ने गर्दछ । नेवार समुदायमा आज मोहिनी नखः गरी घरघरमा कालो टीका लगाएपछि प्रत्येक घरबाट पूजा लिएर मन्दिर जानै पर्ने परम्परा छ ।

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागीश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन् । मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।

गाँठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतिक खःमेयअर्थात् राँगोलाई मङ्गलबार साँझ नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मत्ताएर अबिर र तेल दलेर दौडाउँदै, लखेट्दै ब्रह्मायणी मन्दिर पुर्याएर बध गरेपछि रातिदेखि नै यो जात्रा सुरु भएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्